लोकतन्त्र सुदृढ बनाउन कांग्रेस सधैँ लाग्छ : सभापति देउवा

काठमाडां । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र सुदृढ बनाउन कांग्रेस सधैँ लाग्ने बताएका छन् ।
कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको ९९औँ जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आज आयोजित ‘अहिंसा र शान्ति : आजको सन्दर्भ’ विषयक विचार गोष्ठीमा उनले लोकतन्त्रलाई सुदृढ बनाउने बाटो अदालतले खोलिदिएको बताए। “संसद् पुनःस्थापना गर्ने अदालतको आदेशले न्याय र प्रजातन्त्रको जीत भएको छ”, सभापति देउवाले भने।
पूर्वप्रधानमन्त्री देउवाले अदालतप्रति विचाराधीन मुद्दामा कांग्रेसले यो गर वा ऊ गर भनेर भन्न नमिल्ने भएकाले कांग्रेस चुप लागेर बसेको स्पष्ट पारे। कांग्रेस संसदीय व्यवस्था र प्रजातन्त्रका लागि लडेको पार्टी भएकाले संसद् पुनःस्थापनाले कांग्रेस खुशी रहेको उनको भनाइ छ ।
सभापति देउवाले पार्टीको १४औँ महाधिवेशन भदौमा सम्पन्न हुने उल्लेख गरे। उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा निधिको महत्वपूर्ण भूमिका रहेको बताए । विश्वभर निधिको विचार लागू हुँदै गएको सभापति देउवाको भनाइ थियो ।
कांग्रेस उपसभापति विमलेन्द्र निधिले पुनःस्थापित संसद्मा कांग्रेसले जिम्मेवारपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले अदालतको निर्णय कांग्रेसले स्वीकार गर्ने बताउँदै अदालतको आदेशसँगै वर्तमान प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उल्लेख गरे । संसदीय प्रक्रिया अहिंसा र शान्तिपूर्ण बाटो भएको उनको भनाइ थियो ।
प्रतिक्रिया