आइतबार, असार २२, २०८२

एम्बुलेन्सको ठक्करबाट बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघ घाइते

नेपालखोज २०७७ फागुन १५ गते २०:३०

बर्दिया । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जभित्र एम्बुलेन्सको ठक्करबाट वयस्क पाटेबाघ घाइते भएको छ ।

निकुञ्जभित्र पर्ने राजमार्गको रम्मापुर–सैनवार सडकखण्डको बीचमा पर्ने बबई पुलदेखि पूर्व बुढी खोला नजिक एम्बुलेन्सको ठक्करबाट शनिवार बिहान पाटेबाघ घाइते भएको बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिए।

नेपालगञ्जबाट पश्चिमतर्फ जाँदै गरेको से १ च २४२१ नम्बरको एम्बुलेन्सले बुढी खोला नजिक पाटेबाघलाई ठक्कर दिएको थियो । एम्बुलेन्सले बाघलाई ठक्कर दिएलगत्तै एम्बुलेन्स चालकले बाघ घाइते भएको निकुञ्ज प्रशासनलाई खबर गरेका हुन् । एम्बुलेन्स चालकले खबर गरेलगत्तै बिहानैदेखि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जको टोलीले घाइते भएको बाघको खोजी गरिरहेको छ ।

‘घटनास्थल राजमार्गमा बाघको रगत छ, एम्बुलेन्समा बाघको रौँहरु पनि टाँसिएको छ, त्यसैले बाघ आफू पनि जोखिममा र हिँडडुल गर्नेहरुका लागि पनि जोखिम हुने भएकाले घटनास्थल आसपासमा सेनासहित निकुञ्जको टोली खटिएको र घाइते बाघको खोजी भइरहेको छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए।

बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय ठाकुरद्वारबाट घटनास्थलतर्फ घाइते बाघको खोजीका लागि हात्तीसहितको टोली खटिसकेको छ । हात्तीको सहायताबाट आइतवार बिहानैदेखि घाइते बाघको खोजी गरिने प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए। एम्बुलेन्स र चालक निकुञ्जले नियन्त्रणमा लिएको छ ।

पूर्व पश्चिम राजमार्गभित्र पर्ने बर्दिया निकुञ्जको अम्रेनी चिसापानी सडकको बीचमा यसअघि बस र कारको ठक्करबाट दुई वटा वयस्क पाटेबाघ मरेका थिए भने मोटरसाइकलमा रहेकी एक महिलाको ज्यान गएसँगै दुई महिनादेखि लगातार रुपमा राजमार्ग छेउमा पाटेबाघ देखिन थालेका छन् ।

निकुञ्जभित्र पर्ने राजमार्गको दायाँ-बायाँ ३१/३१ मिटर क्षेत्र तत्कालका लागि झाडी सफा गर्नु पर्ने स्थानीयको माग छ । निकुञ्जभित्र पर्ने राजमार्गमा र खाता जैविक मार्ग क्षेत्रमा पर्ने हुलाकी सडकमा यथासक्य छिटो वन्यजन्तुमैत्री संरचना बनाउन संरक्षणकर्मीको माग छ ।

प्रतिक्रिया