मंगलबार, असार ३, २०८२

उदयपुरका स्थानीय तहमा कृषि उत्पादन बढाईंदै

नेपालखोज २०७७ फागुन २० गते १०:४०

उदयपुर । उदयपुरका स्थानीय तहमा गरीबी निवारण गर्न तथा आर्थिक समृद्धि र रोजगार व्यवस्थापनको लागि उदयपुरको विभिन्न स्थानीय तहले पर्यटन, उद्योग, आदि योजना अगाडि बढाइरहेको बेला ३ स्थानीय तहले भने कृषि विकास र उत्पादनलाई विशेष जोड दिँदै उत्पादन वृद्धि गरेका छन् ।

ती स्थानीय तहमा बेलका, चौदण्डी र त्रियुगा नगरपालिका रहेका छन् । विगत २ वर्षदेखि नै जिल्लाको बेलका नगरपालिकाले सबैभन्दा बढी कृषि उपज उत्पादनलाई जोड दिँदै हरियो तरकारी, मकैखेतीको उत्पादनमा जोड दिँदै आएपछि त्यसको उत्पादनमा अहिले वृद्धि भएको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए ।

लेलकामा कृषि उत्पादनमा मुख्य त ५०० हेक्टर क्षेत्रफलमा हरियो तरकारी उत्पादन गर्दै आएको र यस आर्थिक वर्षबाट ७०० हेक्टरमा हरियो तरिकारी उत्पादनको लागि योजना अगाडि बढाएको प्रमुख थापाले बताए ।

१ वर्षभित्र बेलकाले ४ करोड मूल्यको १ हजार ८०० टनसम्म तरकारी उत्पादन गरेको बेलका नगरपालिकाले जनाएको छ । कृषि उत्पादन वृद्धिको लागि नगरपालिकाले धान उत्पादन र मकै उत्पादनमा विशेष जोड दिँदै कृषकलाई निःशुल्क मल बीउसहित सबै जग्गामा अनिवार्य रूपमा धान र मकैखेती उत्पादनमा जोड दिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले पटक–पटक गरेर डेढ करोड रुपैयाँसमेत कृषिमा लगानी गरिसकेको प्रमुख थापा बताउँछन् । कृषिबाट नै नगरपालिकाको विकास र आर्थिक सम्भव रहेका कारण जिल्लाको चौदण्डीगढी नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकता दिएको सो नगरपालिकाका प्रमुख खगेन्द्र राईले बताए ।

चौदण्डी गढीले कृषिमा मुख्य गरेर अहिले चौदण्डी  कटुन्जे बेबला क्षेत्रको झण्डै ४०० हेक्टर क्षेत्रफलमा आलु उत्पादनमा जोड दिएको छ भने जिल्लाको सुन्दरपुर, हँडिया जोगिदह क्षेत्रमा धान र केरा खेतीमा जोड दिएको छ ।

गत वर्षसम्म २४० हेक्टरमा आलु खेती हुने गरेको नगर विस्तार गरेर ३०० हेक्टरभन्दा बढीमा ५० लाख लगानी गरेर आलु उत्पादन शुरू गरेपछि यस पटक चौदण्डीमा हालसम्मकै धेरै आलु उत्पादन भएको र आलुमा उत्पादनमा नगर आत्मनिर्भर भएको चौदण्डी नगरपालिकाका उपप्रमुख राजकुमारी चौधरी बताउँछन् ।

प्रतिक्रिया