मुस्कान खातुनलाई अमेरिकी आइडब्लूओसी अवार्ड

काठमाडौं । वीरगन्जको छपकैयाकी मुस्कान खातुन प्रतिष्ठित इन्टरनेसनल वुमन अफ करेज (आइडब्लूओसी) अवार्डबाट सम्मानित हुने भएकी छन् ।
एसिड आक्रमबाट पीडित मुस्कानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरिने भएको हो ।
१५ वर्षीया खातुनलाई अमेरिकी विदेश मन्त्रालय दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड प्रदान गरिने नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले जानकारी दिएका छन् । यो अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन् ।
तेजाव आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यको प्रशंसा गर्दै सो प्रतिष्ठित पुरस्कार प्रदान गर्न लागिएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसका दिन भर्चुअल कार्यक्रमका बीच उक्त पुरस्कार मुस्कानलाई प्रदान गर्ने जनाइएको छ ।
प्रायजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने तथा असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाहरुलाई अमेरिकाले आईडब्ल्यूओसी पुरस्कारले सम्मान गर्दछ ।
सन् २०१९ मा मुस्कानले एक किशोरका प्रेम–प्रस्ताव अस्वीकार गरेकोमा तेजाब हमलाको सिकार भएकी थिइन् । उनको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो । उनको स्वास्थ्यलाभ पीडादायी थियो र आजका दिनसम्म पनि जारी छ ।
प्रतिक्रिया