अमेरिकी नागरिकले १४ सय डलर राहत पाउँदै

एजेन्सी । राष्ट्रपति जो बाइडेनले वार्षिक ८० हजार डलरभन्दा कम आय भएका प्रत्येक अमेरिकीलाई १४ सय डलर राहत दिने विधेयकमा आगामाी शुक्रबार हस्ताक्षर गर्ने भएका छन ।
मार्च महिनाभरमै अमेरिकीको हातमा उक्त रकम बराबरको चेक पठाउने समेत बाइडेनले प्रतिवद्धता जनाएका छन् । अमेरिकी संसदको माथिल्लो सदन सिनेटबाट दुई दिन अघि पारित विधेयकलाई तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले बुधबार सदर गरेको थियो । अब राष्ट्रपति बाइडेनको हस्ताक्षरसँगै विधेयकले औपचारिक कानूनको हैसियत पाउनेछ ।
अमेरिकी रेस्क्यु प्याकेज नाम दिइएको कुल १ दशमलव ९ ट्रिलियन डलरको विधेयकको पक्षमा कुनै रिपब्लिकन सिनेटर एवं हाउस अफ रिप्रिजेन्टेटिभले साथ दिएनन् । रिपब्लकिन पार्टी प्रष्ट विपक्षमा रहे पनि अमेरिकी जनताले यो विधेयकलाई उत्साहका साथ समर्थन गरेका छन् । मत सर्वेक्षणहरुमा ६० प्रतिशत बढि अमेरिकी विधेयकको पक्षमा देखिएका हुन् ।
राष्ट्रपति पद सम्हाल्नु अघि नै कोरोना भाइरसले धर्मराएको अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन भन्दै बाइडेले यो प्याकेज प्रस्ताव गरेका थिए । जसमा प्रत्येक अमेरिकीलाई १४ सय डलर दिने तथा मासिक ३०० डलरको बेरोजगार भत्तालाई सेप्टेम्बरसम्म लैजाने छ बर्षभन्दा साना बच्चा रहेका अविभावकलाई बार्षिक ३६ सय एवं सात देखि १७ बर्षसम्मका बालबालिकालाई बार्षिक तीन हजार डलर राहत दिने लगायतका प्रावधानमा समेटिएका छन् ।
त्यस बाहेक विद्यालय खुलाउन, कोरोना भाइरस विरुद्धको खोप विस्तार गर्न एवं साना व्यवसायलाई सहायता प्रदान गर्न पनि ठूलो रकम छुट्याएको छ । अमेरिकी इतिहासमै संकटसँग जुध्न सरकारले ल्याएको यो दोस्रो ठूलो आर्थिक प्याकेज हो ।
यस अघि गतवर्ष कोरोना भाइरसबाट जोगिन सरकारले लगाएको ‘लकडाउन’ पछि पुगेको आर्थिक क्षति निवारणका लागि दुई ट्रिलियन डलरको प्याकेज ल्याइएको थियो । त्यसबेला प्रत्येक अमेरिकीले १२ सय डलर नगद राहत समेत पाएका थिए । गत नोभेम्बरको चुनाव पछि ल्याइएको अर्को राहत प्याकेजमा अमेरिकी सर्वसाधारणलाई ६ सय डलर दिइएको थियो। यसपालीको प्याकेजमा बालबालीका एवं आश्रीतले समेत समान १४ सय डलर पाउनेछन् ।
प्रतिक्रिया