आठ महिनामै २६ अर्ब रुपैयाँको मोबाइल आयात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा झण्डै साढे २६ अर्ब रुपैयाँ बराबरको मोबाइल फोन आयात भएको छ । साउनदेखि फागुन महिनासम्म २६ अर्ब ३० करोड ५४ लाख हजार रुपैयाँ बराबरका मोबाइल फोन भित्रिएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार आठ महिनामा ४९ लाख ९३ हजार थान मोबाइल सेट आयात भएका छन् । सबैभन्दा धेरै चीनबाट १६ अर्ब ४२ करोड रुपैयाँ बराबरका ४१ लाख २२ हजार सेट आयात भएका छन् ।
त्यस्तै भारतबाट आठ अर्ब ६० करोड रुपैयाँ बराबरका ६ लाख ४९ हजार सेट आयात भएका छन् । भियतनामबाट पनि एक अर्ब पाँच करोड रुपैयाँको मोबाइल फोन आयात भएको छ । बेलायत, अमेरिका, यूएई, कतार, बहराइन, जापान, कोरियालगायतका देशबाट पनि मोबाइल आयात भएका छन् ।
गएको आर्थिक वर्ष २०७६/०७७ को पहिलो आठ महिनामा नेपालमा १४ अर्ब ३७ करोड रुपैयाँ बराबरका झण्डै ३८ हजार थान मोबाइल सेट आयात भएको थियो । यो आर्थिक वर्षमा झण्डै दोब्बरले बढेर २६ अर्ब ३० करोड रुपैयाँको मोबाइल फोन सेट आयात भएको हो ।
यस्तै आठ महिनामै राउटर खरिदका लागि नेपालबाट झण्डै डेढ अर्ब रुपैयाँ बाहिरिएको छ । भन्सार विभागका अनुसार पाँच लाख आठ हजार थान राउटर खरिदका लागि एक अर्ब ३३ करोड ७० लाख रुपैयाँ बाहिरिएको हो ।
प्रतिक्रिया