सोमबार, असार ९, २०८२

शेष घले दम्पती अस्ट्रेलियाली धनीको सूचीमा ११९,१२० औं स्थानमा

नेपालखोज २०७७ चैत १८ गते १३:१९


काठमाडौं । शेष घले र जमुना गुरुङ अस्ट्रेलियाको धनाढ्यहरूको सूचीमा ११९ औँ र १२० औँ स्थानमा परेका छन्।

दी अस्ट्रेलियन बिजनेस रिभ्यु एबीआरले प्रकाशित गरे अनुसार सन् २०२१ को सर्वाधिक धनी २५० अस्ट्रेलियालीहरूको नयाँ सुचीमा घले दम्पती ११९ औँ र १२० औँ स्थानमा परेका हुन् ।

यस पटक उनीहरूको आय खुम्चिएको भए पनि आफ्नो लगानीबाट निकै राम्रो नाफा कमाउन सफल रहेको समाचारमा जनाइएको छ ।

शेष घले र जमुना गुरुङ सन् २०१९ मा अस्ट्रेलियाका ८५ र ८६ औँ धनी रूपमा पर्न सफल भएका थिए । गत साल भने उनीहरु ९० औँ तथा ९१ औँ स्थानमा झरेका थिए।

यसका साथै उनीहरूको सम्पत्ति अघिल्लो वर्षको तुलनामा घटेको जनाउँदै हाल दम्पतीसँग एक अर्ब ३ करोड डलर बराबरको कुल सम्पत्ति रहेको बताएइको छ।

अघिल्लो वर्ष घले दम्पतीसँग एक अर्ब २६ करोड वा १।२६ बिलियन डलर कुल सम्पत्ति रहेको न्युज कर्पद्वारा प्रकाशित उक्त वार्षिक रिपोर्टमा बताइएको थियो ।

अस्ट्रेलिया, युरोप र नेपाललगायत देशमा होटेल व्यवसायमा घले दम्पतीको लगानी छ । उनीहरुको मेलबर्नमा एक निजी शैक्षिक संस्था मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीसमेत सञ्चालित छ ।

यसका साथै, अस्ट्रेलियामा बसाइँ सरेका अत्यधिक सफल जोडी मध्येका एक मानिएका घले तथा गुरुङको लगानी, मेलबर्नको कमर्सियल रियल स्टेट वा व्यावसायिक भवनहरूमा पनि रहेको छ।

अन्य सामान्य वर्षहरूमा आफ्ना लगानीबाट निकै राम्रो नाफा कमाउन सफल रहेता पनि, महामारीका कारण यस पटक उनीहरूको आय खुम्चिएको देखिन्छ।

एबीआरका अनुसार ५० करोड डलरको लागत रहेको एक होटेल तथा कार्यालय भवन सम्बन्धी आयोजना हाल शेष घले र जमुना गुरुङले स्थगित अवस्थामा राखेका छन्।

मेलबर्न स्थित क्वीन भिक्टोरिया मार्केट नजिकै एक होटेल तथा व्यावसायिक प्रयोजनका लागि बन्ने भवनमा उनीहरूले लगानी गर्ने बताइएको थियो।


घलेले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आगमन ठप्प भएकोमा चिन्ता व्यक्त गरेको पनि एबीआरले उल्लेख गरेको छ।

केही समय अघि, एसबीएस नेपालीसँग कुरा गर्दै उनले, अस्ट्रेलियाली नीति निर्माताहरूका लागि नेपाल धेरै पर रहेका कारण, अस्ट्रेलियालीहरूले नेपालको व्यावसायिक आकाङ्क्षा बारे कहिल्यै नसोचेको बताएका थिए।

जिना राइनहार्ट यो वर्ष अस्ट्रेलियाको सबैभन्दा धनी व्यक्तिको रूपमा सूचीकृत भएकी छिन्।

प्रतिक्रिया