माओवादी आक्रमणबाट भारतमा २२ सुरक्षाकर्मी मारिए

छत्तीसगढ । शनिबार भारतको छत्तीसगढ बीजापुर क्षेत्रमा माओवादीसँगको भिडन्तमा ज्यान गुमाउने सुरक्षाकर्मीको संख्या २२ पुगेको छ । भिडन्तको क्रममा मृत्यु हुनेको संख्या बढेको नक्सल अपरेशनका डिजी अशोक जुनेजाले बताएको बिबिसीले उल्लेख गरेको छ।
उनले भने, ‘घटनास्थलमा पुगेको सुरक्षा टोलीले आइतबार २० शव संकलन गरेको छ । यस्तै माओवादीहरुले घाइते साथीहरुलाई तीनवटा ट्रयाक्टरमा राखेर लगेको जानकारी पनि प्राप्त भएको छ।’
घटनास्थलमा सुरक्षाकर्मीको शव यत्रतत्र रहेको र आइतबार त्यहाँ पुगेको टोलीले शव संकलन गरेको विभिन्न स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।
पछिल्लो केही वर्षयता छत्तीसगढमा माओवादीले गरेको यो ठूलो आक्रमण हो । भारतका गृहमन्त्री अमित शाह तथा छत्तीसगढका मुख्य मन्त्री भूपेश बघेलले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
शुक्रबार सुकमा र बीजापुरका विभिन्न स्थानबाट सिआरपिएफ, डिस्ट्रिक्ट रिजर्व गार्ड, स्पेशल टास्क फोर्स र कोबरा बटालियनका दुई हजार ५९ जवान गस्तीका लागि निस्किएका थिए।
गस्तीबाट फर्किने क्रममा शनिबार तर्रेम चौकी नजिक जोन्नागुण्डा जंगलमा माओवादीले आक्रमण गरेका हुन्। भिडन्तमा घाइते भएका ३७ जवानलाई बीजापुर र रायपुरका अस्पतालमा भर्ना गरिएका छन्।
प्रतिक्रिया