शनिबार, वैशाख १३, २०८२

पाकिस्तानी जनता काेराेना खाेप लिन कालाेबजारीकाे मारमा

नेपालखोज २०७७ चैत २७ गते १०:३७

काठमाडाैं । विश्वभरिका देशहरूले कोरोनाविरुद्धको खोप सित्तैमा वितरण गरिरहे पनि पाकिस्तानमा भने काेराेना खाेपकाे खुलेआम कालाेबजारी बढेकाे छ । पाकिस्तानमा पनि अहिले कोरोनाको दोस्रो चरणको खोप सुरु भइसकेको छ । दक्षिण एसियामा पनि कोरोना खोप कार्य प्रभावकारी रूपमा अगाडि बढिरहे पनि पाकिस्तानमा भने कालोबजारीका कारण खाेप प्रभावकारी हुन सकेकाे छैन ।

कोरोनाको दुई डोज खाेप लिनका लागि पाकिस्तानी नागरिक १८ हजार नेपाली रुपैयाँ खर्च गर्न बाध्य भएका छन् । विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूलाई मान्ने हाे भने पाकिस्तानमा रुसी खोप स्पुतनिक भी ८० डलरमा बिक्री भएको छ। पाकिस्तानी जनताले चर्को मूल्य तिरे पनि सुलभ तरिकाले खोप लगाउन पाउने अवस्था छैन । घन्टौँ लाइनमा उभिएर उनीहरु खाेप कुरेर बस्दछन् ।

याे साता दुई डोजका लागि ८० डलरभन्दा माथि तिर्न कराँची सहरको दक्षिण क्षेत्रका स्थानीयल तयार भए काे जनाइएकाे छ । त्यसाे हुँदा पनि उनीहरूले खोप लगाउन पाएका छैनन् । कालोबजारी गर्नेहरूले खोप समाप्त भइसकेको भनी स्थानीयलाई घर फर्काइरहेका छन् । यसै महिनामा प्रधानमन्त्री इमरान खानले निजी कम्पनीलाई रुसी खोप किन्ने अनुमति दिएका थिए । त्यसपछि यसमा कालाेबजारीहरुकाे बिगबिगी बढेर गएकाे छ ।  

सर्वसाधारणलाई रुसी खोप खरिद गरी लगाउन सक्ने जानकारी मन्त्रिपरिषद्ले दिए पनि चर्काे मूल्यकाे मारमा पाकिस्तानी जनता रहेका छन्  । यो निर्णयसँगै निजी कम्पनीहरूले ठूलो परिमाणमा रुसी खोप उठाएका छन् । इमरान खान नेतृत्वको सरकारले चीनबाट अनुदानमा प्राप्त खोप ६० वर्षमाथिका वृद्धवृद्धा तथा फ्रन्टलाइनमा काम गर्नेहरूलाई मात्र वितरण गरिरहेको कारण आाम जनता चर्काे मूल्यमा परेका हुन् । 

कोरोनाविरुद्धको खोप बिक्रीमा भ्रष्टाचार हुँदा पाकिस्तानमा संक्रमित संख्या बढ्न सक्ने आशंका पाकिस्तानी नागरिकले गरेका छन् । पाकिस्तानी मिडियाहरूका अनुसार धेरैजसो युवा नै खोप लगाउन लाइनमा बसेका छन् । विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूले खोपमा भ्रष्टाचार भएको समाचार सम्प्रेषण गरेपछि सरकार र औषधि कम्पनीबीच विवाद चुलिएको छ । 

सरकारले निजी कम्पनीहरूलाई खोप खरिद गर्दा कर तिर्नुपर्ने निर्णय गरेको छ । गत महिना विभिन्न कम्पनीले स्पुतनिक भी खोप ५० हजार डोज मगाएका थिए । यसैबीच, सरकारले चीनबाट १० लाख डोज खोप खरिद गरेको छ । सरकारले नै खोपको मूल्य निर्धारण नगर्दा निजी कम्पनीहरूले आफूखुसी मूल्य राखी बिक्री गरिरहेका छन् ।

यद्यपि, सरकारले खोप खरिद गर्दा धेरै मूल्य तिरेको आरोप पाकिस्तानका पत्रकार नजाम सेठीले लगाएका छन् । ‘भारतले स्पुतनिक खोप किन्दा ५० डलर खर्च गरेको छ, पाकिस्तान सरकारले यसैलाई सय डलर तिरेको छ,’ उनले भने, ‘सरकारले अरू राष्ट्रमा जस्तै सर्वसाधारणलाई किन निःशुल्क खोप वितरण गर्न सक्दैन ?’ प्रधानमन्त्री खानले केही समयअगाडि राष्ट्रका नाममा सम्बोधन गर्दै सबै जनतालाई निःशुल्क खोप वितरण गर्ने प्रतिबद्धता जनाएका थिए । उनले आफ्नो प्रतिबद्धता पूरा गर्न नसकेको आरोप पत्रकार नजामले लगाएका छन् । 

पाकिस्तानमा अहिलेसम्म सात लाख पाँच हजार पाँच सय एकजना संक्रमित भएका छन् । जसमध्ये १५ हजार एक सय २४ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानका विभिन्न अस्पतालमा तीन हजार नौ सय ४२ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

कालाेबजारीलाई कुनै डर छैन खुलेआाम कालाेबजारी
यसैबीच एन्टिकरप्सन वाचडगले बजारमा खोप बिक्रीसँगै भ्रष्टाचारीले भ्रष्टाचार गर्न अनुमति पाएको प्रतिक्रिया दिएको छ । ‘बजारका विभिन्न औषधि पसल र कम्पनीले खोप बिक्री गरिरहेका छन्, यसले झ्यालबाटै भ्रष्टाचार भइरहेको आभास हुन्छ ।’ डिआरएपीका अधिकारी अख्तर अबासले निजी कम्पनीहरूले रुस तथा चीनद्वारा उत्पादित सिनोफाम तथा एस्ट्राजेनेका खोप खरिद गरेको जानकारी दिएका छन् । 

स्वास्थ्यमन्त्री साजिद हुसैनले मन्त्रिपरिषद्को बैठकले सर्वसाधारणलाई सहज हुने किसिमले खोपको मूल्य निर्धारण नगरेको स्विकारेका छन् । ‘अहिलेसम्म सरकारले खोपको मूल्य तोकेको छैन, हामी यस विषयमा निजी क्षेत्रसँग छलफल गरिरहेका छौँ,’ स्वास्थ्यमन्त्री साजिदले भने । 

प्रतिक्रिया