आइतबार, असार २२, २०८२

निजी क्षेत्रको मनोबल माथि नउठाइ राष्ट्रिय आकांक्षा पुरा नहुने : अर्थमन्त्री पौडेल

नेपालखोज २०७७ चैत २७ गते २०:३३

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको मनोबल माथि नउठाइकन र आतमविश्वासयुक्त वातावरण निर्माण नगरेसम्म समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा हुन नसक्ने बताएका छन् । निर्यात व्यवसायी महासंघ नेपालको शुक्रबार आयोजित प्रथम साधारणसभाको समुदघाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको मनोबल उठाउनको लागि सबै हिसाबले प्रतिवद्ध रहेको बताए ।

उद्योगी व्यवसायीका समस्या सुन्न, समाधान गर्नका लागि सरकार छलफल गर्न र कार्यान्वयन गर्न तत्पर रहेको पनि बताएका छन् । कोभिड महामारीको बीचमा पनि निजी क्षेत्रलाई ढाडस दिने उद्देश्यले सरकारले विभिन्न किसिमका पयत्न गरेको जानकारी दिएका छन् । ति सबै चिजहरु क्रमिक रुपमा कार्यान्वयमा आएको उनले बताए ।

कोभिडबाट प्रभावित अर्थतन्त्रलाई पुनरउत्थान गर्न निजी क्षेत्रलाई गतिशिल ढङ्गले आधार निर्माण गर्नका लागि नीति तथा कार्यक्रम र योजना तयार गर्ने विषयमा केन्द्रीत भएर छलफल गरिरहेको मन्बी पौडेलको भनाइ थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यस पटकको बजेट र मौद्रिक नीतिमा पनि कोभिडको कारणले थला परेको अर्थतन्त्रको पुनरउत्थानका लागि कार्यक्रमहरु आउने विश्वास व्यक्त गरे । आयातको तुलनामा निर्यात कम भएको तर आयातलाई रोक्न नहुने पनि वरिष्ठ उपाध्यक्ष ढकालले बताए । उत्पादन बढाउँदा आयात आफै निरुत्साहित हुने उनको भनाई छ । नितिगत रुपमै व्यापारलाई भन्दा उद्योग प्रतिष्ठानलाई जोड दिन समेत गरे ।

प्रतिक्रिया