२०७७ मा नेपालमा भित्रिए यस्ता गाडी र बाइक

काठमाडौं । वर्ष २०७७ लाग्दै गर्दा नेपाललगायत विश्वमै कोरोना भाइरसको महामारी बढ्दै थियो । नेपालमा २०७६ को चैत ११ देखि नै पूर्ण रुपमा लकडाउन घोषणा गरिएको थियो । सो लकडाउन विभिन्न अवस्थामा करिब ६ महिनासम्मै रह्यो । यसले गर्दा नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ गाडी र बाइक भित्रिने क्रम नयाँ वर्षको प्रारम्भिक अवस्थामा भएन ।
पछि लकडाउन केही खुकुलो भएर सामाजिक दूरी कायम गरी केही व्यवसाय प्रारम्भ गरियो । यो अवस्थामा नेपाली बजारमा पनि नयाँ गाडी र बाइक भित्रिने क्रम प्रारम्भ भयो ।
यो वर्ष भित्रिएका गाडीमध्ये हुन्डाईको नयाँ क्रेटा र ग्रान्ड आई १० नियोस, निसान म्याग्नाइट, किसा सोनेट र सेल्टोस, सुजुकी भिटारा ब्रेजा पेट्रोल, फक्सवागन अलस्पेस, पोलो र भेन्टो टीएसआई, रेनो क्विड फेसलिफ्ट, स्कोडा कारोक र र्यापिड टीएसआई, टाटा अल्ट्रोज, डीएफएसके ग्लोरी आई-अटो, ड्याटसन रेडी गो, फोर्ड इकोस्पोर्ट, टोयोटा कोरोला क्रस, होन्डा सीआर-भी र सिटी, एमजी एचएस, प्रोटोन एक्स ७० आदि चर्चित बने ।
अन्य ब्रान्डका गाडी नेपाली बजारमा पहिलेदेखि नै उपलब्ध भए पनि यो वर्ष भित्रिएका निसान म्याग्नाइट, किया सेल्टोस र सोनेट, फक्सवागन अलस्पेस, टाटा अल्ट्रोज, स्कोडा र्यापिड टीएसआई र हुन्डाई क्रेटा आदि नेपाली बजारमा यो वर्ष चर्चित बने । नेपाली उपभोक्ताहरुको रोजाइका लागि यी गाडी कम मूल्यमै उत्कृष्ट सुविधा उपलब्ध भएको गाडीको पहिचान कायम गरे । यी गाडी भारत र अन्य देशमा समेत चर्चित बनेकाले स्वाभाविक रुपमा नेपाली बजारमा पनि चर्चित रहे ।
बाइक पारखीहरुका लागि पनि यो वर्ष प्रशस्तै नयाँ मोडल भित्रिए । यामाहाका बिग बाइक बोल्ट, आर-६ र स्कुटर टी-म्याक्स बिक्रीका लागि उपलब्ध भए । त्यसैगरी टीभीएसले एबीएस र स्मार्ट कनेक्ट फिचर भएका आरटीआर १६० फोरभी र २०० फोरभी नेपाली बजारमा ल्यायो । यही वर्ष टीभीएस एनटर्क स्कुटर नेपाली बजारमा सबैभन्दा धेरै बिक्री हुने प्रिमियम स्कुटर भएको घोषणा गरियो । हिरोका एक्स्ट्रिम १६०आर, हंक १५०आर र अपडेट गरिएको सुपर स्प्लेन्डर बाइक नेपाली बजारमा उपलब्ध भए । बजाज डोमिनार २५०, होन्डा सीबीआर ६०० आरआर, बेनेली १८०-एस र ७२०-एस आदि यो वर्ष भित्रिए । त्यसैगरी क्रसफायर, क्रसएक्स, सीएफमोटो आदि ब्रान्डका नयाँ बाइक समेत नेपाली बजारमा भित्रिएका छन् ।
स्कुटर सेगमेन्टमा अप्रिलिया एसएक्सआर १६०, यामाहा रे जेडआर १२५ एफआईका साथै धेरै ब्रान्डका अपग्रेडेड मोडलका स्कुटर नेपाली बजारमा भित्रिए ।
यो वर्ष धेरै नयाँ ब्रान्डका गाडी र बाइक नेपाली बजारमा भित्रिएका छन् । गाडीमा बीएमडब्ल्यू, बगवार्ड, प्रोटोन आदि ब्रान्ड भित्रिएका छन् । विश्व बजारमा प्रिमियम मानिने यी ब्रान्डका गाडीको मूल्य १ करोड रुपैयाँभन्दा बढी नै पर्छ । त्यसैगरी बाइकमा जाभा, किवे, कासाका, हस्कभर्ना आदि ब्रान्ड भित्रिए ।
इलेक्ट्रिक गाडी र बाइक पनि यो वर्ष निकै नै भित्रिएका छन् । गाडीतर्फ दीगो, डेरी आदि ब्रान्ड भित्रिएका छन् भने स्कुटरतर्फ प्योर ईभी, टेलजी, सुपर सोको, लेभनिङ, जिमोपाई, लुआन आदि ब्रान्ड भित्रिएका छन् । विश्वमा इलेक्ट्रिक सवारीतर्फको आकर्षण बढिरहेको समयमा नेपाली बजारमा पनि यस्ता सवारी भित्रिने क्रम बढ्दो छ ।
प्रतिक्रिया