कवि तथा साहित्यकारको नयाँ वर्ष !

काठमाडौं । नेपाली घर-आँगनमा आजबाट नयाँ वर्ष २०७८ सुरु भएको छ । नेपालीले २०७७ साललाई निकै पीडादायी तवरले गुजारे । उसो त विश्वभरकै मानिस यो २०७७ सालमा कोभिड महामारीबाट प्रभावित बने । हामीले केही कवि तथा साहित्यकारहरुलाई २०७७ साल कसरी बिताइयो र आगामी वर्षका योजनाबारे सोधेका छौं । हेरौं उनीहरुको जवाफ जस्ताको तस्तै ।
राजनीतिक तमासा हेरियो – विप्लव प्रतीक, कवि
बितेको वर्ष त्यसरी नै बित्यो, जसरी समय बितेको पत्तो हुँदैन । तैपनि केही गीत लेखियो, केही कविता लेखियो, केही पुस्तक सम्पादन गरियो र केही अनुवाद गरियो । जसमा अनुप बरालको निर्देशनमा बन्न लागेको आर्थर मिलरको प्रसिद्ध र अर्थपूण नाटक ‘डेथ अफ अ सेल्सम्यान’ को अनुवाद उल्लेखनीय छ । त्यसबाहेक लकडाउन भोगियो । राजनीतिक तमासा हेरियो । यसरी नै बित्यो पोहोर विनायोजना ।
वास्तवमा मैले जीवनमा कहिल्यै योजना बनाइनँ । जे आयो जीवनमा त्यसलाई खुसीसाथ ग्रहण गरेँ । यस वर्ष संकेत दुईवटा पुस्तक प्रकाशित हुनेछ । त्यसबाहेक नयाँ वर्ष २०७८ ले मलाई के-के सौगात बोकेर आएको छ, मात्र प्रतीक्षा छ ।
अधिकांश समय घरभित्रै बित्यो – हरि अधिकारी, साहित्यकार/पत्रकार
कोभिड-१९ का कारण २०७७ सालको अधिकांश समय घरभित्र बसेरै बित्यो । सामान्य लेखपढको कामलाई भने निरन्तरता दिने प्रयास गरिरहेँ । २०७७ सालको उपलब्धिका रूपमा मेरा निबन्ध/ प्रबन्धहरूको संग्रह ‘संकलित गद्यरचना’ प्रकाशनमा आएको छ ।
नयाँ वर्ष २०७८ भित्र मैले लेख्दै गरेका तीन पुस्तक, एक जासूसी उपन्यास ‘सुवर्णक्रीडा’, बीपी कोइरालाको जीवन-चरित्र र विस्थापित भुटानीहरूको संघर्ष-गाथा पूरा गर्ने योजना छ । २०७८ को सुरुमै वैशाख १३ गते म तीन वर्ष लामो अमेरिका बसाइबाट नेपाल फर्कंदै गरेकाले यसलाई पनि एउटा महत्त्वपूर्ण परिवर्तनका रूपमा लिएको छु ।
अध्यात्म र ज्योतिषबारे अध्ययन गरें – अमर न्यौपाने, साहित्यकार
संसारलाई नै कोरोना लागेको बेलामा थाहा नपाएर हो या परीक्षण नगरेर हो आजसम्म कोरोनाबाट संक्रमित हुनुपरेन । अब के हुन्छ थाहा छैन । कोरोनाको महामारी मच्चिँदा सुरु-सुरुमा साह्रै डर लाग्यो । लकडाउन पनि भयो । डरले सिर्जनशीलतालाई रोक्यो । २०७७ सालमा केही लेखियो, केही अध्ययन गरियो । यो वर्ष साहित्यभन्दा धेरै अध्यात्म र ज्योतिषबारे अध्ययन गरेँ । यसलाई कसरी विज्ञानसँग जोडेर हेर्न सकिन्छ भनेर विचार गरें ।आगामी वर्ष उपन्यास प्रकाशित गर्ने लक्ष्य छ । आफ्ना व्यवहारिक काम त छँदै छन् ।
सुतेरै थाकेँ – मीनराज वसन्त, साहित्यकार
समग्रमा २०७७ साल दुषाध्य रह्यो । एक किसिमले सम्पूर्ण विश्व नै यसबाट आक्रान्त बन्यो । र, सबैको गति ठप्प भयो । लकडाउनका कारण म पनि चार महिना भारतमा फसें । यही समय सदुपयोग गर्दै एउटा उपन्यास तयार गरेँ । अनि साबिकको भन्दा धेरै समय किताब, सिनेमा र भरपूर सुत्नमा लगाएँ । सायद सुतेरै थाकेको चाहिँ पहिलोपटक होला । अब २०७८ मा भनेँ केही कामलाई मूर्तता दिनेछु । समय प्रतिकूल नभए केही यात्रा गर्नेछु । लेखन र पठन त छँदै छ ।
प्रतिक्रिया