कोरोनाविरुद्धको दोस्रो डोज भोलिदेखि (स्थान र तालिकासहित)

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउने कार्य भोलिदेखि सुरु हुँदैछ । कोरोनाको पहिलो डोज लगाएकाहरुलाई भोलिदेखि ११ वैशाखसम्म दोस्रो डोज दिन लागिएको हो ।
खोप अभियान अन्र्तगत कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ४ लाख ३९ हजार जनालाई दोस्रो मात्रा दिइनेछ । पहिलो डोज जुन कम्पनीको खोप लगाएको हो, दोस्रो डोज पनि त्यही खोप लगाउनु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
खोपको समय तालिका
मन्त्रालयले कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउने तालिका सार्वजनिक गरिसकेको छ । तालिकाअनुसार गत माघ १४, १५, १६, १७ तथा २६ गते पहिलो डोज लगाएकाहरुलाई भोली (वैशाख ७ गते) दोस्रो डोज दिइनेछ ।
यसैगरी माघ १८, १९, २०, २१ र २७ गते खोप लगाएकाहरुलाई पर्सी (वैशाख ८ गते) दोस्रो डोज दिइने छ ।
माघ २२, २३, २४, २८ र फागुन २ गते पहिलो डोज लगाएकाहरुले दोस्रो डोज लगाउने पालो वैशाख ९ गते परेको छ ।
यसैगरी माघ २९ र फागुन ३, ४, ५ तथा ६ गते खोप लगाएकाहरुले वैशाख १० गते तथा माघ ३०, फागुन ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरुले वैशाख ११ गते दोस्रो डोज लगाउन सक्नेछन् ।
खोप लगाउन जाँदा खोप कार्ड र आफ्नो परिचयपत्र अनिवार्य रुपमा साथमा राख्नुपर्नेछ ।
खोप लगाउने स्थान
काठमाडौं उपत्यकाभित्र १९ वटा अस्पतालमा कोरोनाको दोस्रो चरणको खोप लगाउन सकिनेछ । जसमा वीर अस्पताल, प्रसूति अस्पताल थापाथली, शुक्रराज अस्पताल टेकु, सिभिल अस्पताल मिनभवन, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर, नेपाल मेडिकल कलेज अत्तर खेल, काठमाडौं मेडिकल कलेज सिनामंगल छन् ।
यसैगरी हिमाल अस्पताल ज्ञानेश्वर, ह्याम्स अस्पताल धुम्बाराही, त्रिवि शिक्षण अस्पताल अस्पताल महाराजगञ्ज, स्तूपा अस्पताल बौद्ध, गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी, ओम अस्पताल चाबहिल, जनमैत्री अस्पताल बालाजु, मदरल्याण्ड अस्पताल जडिबुटी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, सशस्त्र प्रहरी अस्पताल बलम्बु तथा नेपाल प्रहरी अस्पताल रानीपोखरीमा पनि खोप लगाउन सकिनेछ । खोप लगाउने समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निर्धारण गरिएको छ ।
चिकित्सक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक तथा सहचालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, सबै सरकारी कार्यालयका कर्मचारी, बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहमा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, कुटनीतिक नियोगका कर्मचारीहरुलाई दोस्रो मात्रा खोप लगाइने मन्त्रालयले जनाएको छ ।
सरकारले दोस्रो चरणको खोप पहिलो खोप दिएकै स्थानमा दिनुपर्ने पुरानो सर्कुलर संसोधन गर्दै जहाँसुकै खोप लगाउन सकिने गरि नयाँ तालिका जारी गरेको हो ।
प्रतिक्रिया