शनिबार, असार २१, २०८२

कावासोतीमा धितोपत्र दलाल व्यवसायी शाखा

नेपालखोज २०७८ वैशाख ६ गते १६:५४


काठमाडौं । बोर्ड अध्यक्ष भिष्म राज ढुंगानाले धितोपत्र दलाल व्यवासायीको शाखा विस्तारले पूँजी बजारको पहुँच विस्तारमा थप टेवा पुर्याउने बताएकाछन । भिजन सेक्युरिटिज प्रा.लि. को नवलपुरको कावासोतीमा शाखा कार्यालयको समुदघाटन गर्ने क्रममा उनले सो धारणा राखेका हुुन ।
उहाँले धितोपत्रको प्राथमिक बजारको सेवालाई देशव्यापी बनाइसकेपछि अब हामी दोस्रो बजारका सेवाहरू समेत देशव्यापी बनाउने क्रममा रहेको बताए । यस कार्यले देशका कुनाकाप्चाबाट सर्वसाधारणले शेयर खरिद गर्ने तर सो शेयर विक्रीका लागि दोस्रो बजार सेवा स्थानीय तहमा उपलब्ध नहुँदा सर्वसाधारणले भोग्नुपरेको समस्याको समाधान हुने जिकिर उनले गरे । मन्तव्यकै क्रममा उनले शाखा कार्यालय विस्तारमार्फत् एकातिर संघीयताको सिद्धान्त अनुरूप पूँजी बजार स्थानीय तहसम्म विस्तार हुँदा स्थानीय स्तरको पूँजी परिचालन हुने र देशको आर्थिक विकास तथा रोजगारी वृद्धिमा स्थानीय समेत प्रत्यक्ष रूपमा सहभागी हुन पाउने वातावरण बन्ने धारणा राखे ।


कार्यक्रममा बोर्ड अध्यक्ष ढुंगानाले पछिल्लो समय विशेष गरी २०७७ साल नेपालको पूँजी बजारको लागि ऐतिहासिक वर्षको रूपमा रहन गएको बताउँदै धितोपत्रको प्राथमिक निष्काशन, कारोबार रकम, बजार पूँजीकरण, नेप्से सूचकांकका साथै लगानीकर्ताको संख्याजस्ता परिसूचकहरूको आधारमा २०७७ साल हाम्रो लागि विशेष रहन गएको बताए । विभिन्न प्राविधिक तथा नीतिगत सुधारसँगै एउटै आईपिओमा १८ लाख भन्दा बढी लगानीकर्ताहरू सहभागी हुने अवस्थाको सृजना भएको बताउँदै बोर्डले पछिल्लो समय बजारको सुधार तथा विकास विस्तारका लागि गरेका विभिन्न पहलहरूको समेत जानकारी दिए ।


अध्यक्ष ढुंगानाले हालको उपलब्धीको जगेर्ना गर्दै पूँजी बजारको क्षेत्र र दायरा थप विस्तार गर्नुपर्ने चुनौति रहेको बताउँदै २०७८ सालमा बोर्ड नेपालको धितोपत्र बजारमा नयाँ आयाम थप्ने गरी अघि बढिरहेको बताए । उनले यो वर्ष हामी कारोबार प्रणालीको प्राविधिक सुधार एवं टि प्लस टुु को प्रभावकारी कार्यान्वयन, थप लगानी उपकरणको व्यवस्था, गतिशिल एवं प्रभावकारी ऋणपत्र बजार सञ्चालन, ओटिसी बजारको यान्त्रीकिकरण लगायतका विषयहरूलाई विशेष प्राथमिकताका साथ अगाडि बढाएको जानकारी दिए । मन्तव्यकै क्रममा उनले चालु आ.व. मा नै प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल जस्ता विशिष्टिकृत लगानी कोषहरूको सञ्चालन गर्ने अवस्थामा रहेका छौं भने लामो समयदेखि प्रक्रियागत अष्पस्टताका कारण अन्योलमा रहेको वस्तु विनिमय बजारको सञ्चालन अनुमति दिने प्रक्रिया यही आ.व.मा टुङ्गोमा पुर्याउने लक्ष्यका साथ तिव्र गतिमा कार्य भैरहेको बताए ।


मन्तव्यकै क्रममा अध्यक्ष ढुंगानाले सर्वसाधारण लगानीकर्ताको सिधा र नजिकको सम्बन्ध ब्रोकरसँग रहने हुनाले ब्रोकरले दिने सेवा, व्यवहारमा समग्र पूँजी बजारको चित्र प्रतिबिम्बित हुने भएकोले ब्रोकरले उत्कृष्ट व्यवासायिक सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । उनले ब्रोकरको पूँजीगत क्षमता अभिवृद्धि, व्यवसायिकता अभिवृद्धिका साथै कार्यक्षेत्र विस्तारलाई बोर्डले प्राथमिकतामा राखेको समेत जानकारी दिए ।

प्रतिक्रिया