कर्णालीमा कोरोना सङ्क्रमित व्यवस्थापनको जिम्मा सम्बन्धित पालिकालाई दिने निर्णय

सुर्खेत । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना सङ्क्रमितको व्यवस्थापनको जिम्मा सम्बन्धित पालिकालाई दिने निर्णय गरेको छ ।
सामाजिक विकासमन्त्री विमला केसीको अध्यक्षतामा आज बसेको प्रादेशिक स्वास्थ्य आपत्कालीन निर्देशन समितिको बैठकले सीमानाकामा रहेका सङ्क्रमित व्यवस्थापनको जिम्मेवारी सम्बन्धित पालिकालाई नै दिने निर्णय गरेको हो ।
भारतलगायत देशबाट आएका व्यक्तिलाई नाकाबाट पालिकासम्म लैजाने र सामान्य लक्षण नभएका सङ्क्रमितको सम्बन्धित पालिकाले उपचार व्यवस्थापन गर्नुपर्ने निर्णय भएको प्रदेश जनस्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले जानकारी दिए।
प्रदेशमा रहेका कोरोना हब अस्पताल र सबै अस्पतालमा कोरोनाका बिरामीको उपचार व्यवस्थापनका लागि सबै तयारीमा रहनसमेत निर्देशन दिने निर्णय भएको उनले बताए ।
अहिले भारतबाट कर्णाली फर्कने नागरिकहरु बढेकाले नाकामा जाँचमा कडाइ गर्ने र लक्षण नदेखिएका सङ्क्रमित व्यक्तिलाई सम्बन्धित गाउँपालिकामा सहजै पुर्याउन प्रभावकारी समन्वय र सहकार्यको भूमिका खेल्ने उनको भनाइ छ ।
कर्णालीका १० वटै जिल्लामा कोरोना रोकथाम र नियन्त्रण गर्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न सचेतना कार्यक्रम व्यापकरूपमा अगाडि बढाउने निर्णयसमेत भएको छ ।
प्रतिक्रिया