शनिबार, वैशाख १३, २०८२

प्रेम र अध्यात्मको द्वन्द्व ‘काँचो कागज’

करिष्मा अधिकारी २०७८ वैशाख ११ गते १६:०३

गोपी सापकोटा कला र साहित्यमा चिर-परिचित नाम हो । कविता, बालकथा, नाटकमा कलम चलाउँदा-चलाउँदै अकस्मात् गोपी हराए । किन हराए ? गैँडाकोटबाट किन हराए ? काठमान्डूबाट किन हराए ? अझ भनौं स-परिवार परदेश किन गए ? यो उनको नितान्त: व्यक्तिगत कुरो हुन सक्छ । तर उनी संसारको जुनसुकै कुनामा रहे पनि आफ्नो साहित्यप्रति भोक र तृष्णाको समन गर्न भने पछि परेका छैनन् ।

हाल बेलायतको राजधानी लन्डनमा बस्दै आएका गोपी सापकोटा नेपाली पाठकमाझ फेरि प्रकट भए उपन्यास लिएर । उनको उपन्यासको नाम हो ‘काँचो कागज’ जीवनको यथार्थलाई कहीं सपनामा कतै तरगंको डुंगामा राखेर पाठकलाई प्रेमिल विचरण गराउन लेखक सफल भएका छन् ।

उनलाई नजिकबाट चिन्‍नेहरुले त उपन्यासको मूलपात्र चिरायू नै गोपी त होइन पनि भने । युवापुस्ताको मनोवेगलाई प्रेम र रोमान्सको फ्रेममा सजाएर स्वप्‍न बगैंचामा घुमाएका छन् गोपीले । वर्तमान पुस्ताको बाल्यकालदेखि युवावयसम्मका सपनालाई उधिनेका छन् ।

काँचो कागजमा कहिले अध्यात्ममाथि प्रेम हावी भएको छ भने कहिले प्रेममाथि अध्यात्म हावी भएको पाइन्छ । चिरायु मूलपात्रलाई चाहने कादम्बिनी, सन्ध्या र सारिका । यो उपन्यास तीन प्रेमिल आत्माको मिलन र बिछोडको अद्भूत् कथा हो । प्रेममा असफल भएपछि अध्यात्मको बाटो रोज्‍ने पात्र र प्रवृत्तिको उत्खनन हो काँचों कागज ।

चिरायु र कादम्बिनीको वासना मनोविज्ञानले पाठकलाई- आफ्नो अव्यक्त प्रेमले साकार रूप लिन नपाएपछि आध्यात्मिक गुरु बनेका चिरायु पुन: सांसारिक जीवनतिर मोडिए कि भन्ने सानु आशंका जन्माउँछ तर त्यसलाई सपना मात्र हो भनेर कुरो अन्तै मोड्न सफल भएका छन् लेखक । पुस्तक पाठकलाई बाँधी राख्‍न सक्षम देखिएको छ ।
कृष्ण कँडेल

प्रतिक्रिया