सुर्खेत, दैलेख र वीरगन्जमा ५ संक्रमितकाे मृत्यु

काठमाडाैं । सुर्खेत, दैलेख र वीरगन्जमा गरी पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत चौबीस घण्टाको तथ्यांकमा यस्तो देखाइएको हो ।
मन्त्रालयका अनुसार सुर्खेतमा दुई र दैलेखमा एक संक्रमितकाे मृत्यु भएको छ । यसैगरी वीरगन्जमा पनि दुई संक्रमितको मृत्यु भएको हो । मृतक सबैमा श्वासप्रश्वासको समस्या देखिएकाे थियाे ।
वीरगन्जको नारायणी अस्पतालमा उपचार गराइरहेका दुई कोरोना सङ्क्रमितको आज (बुधबार) बिहान उपचारका क्रममा मृत्यु भएको हो ।
कडा निमोनियाँ र श्वासप्रश्वासमा समस्या रहेका सर्लाहीको दंगाहा ४ का ४३ वर्षीय पुरुष र बाराको सुवर्ण नगरपालिका ७ की ३० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
निमोनियाँ र उच्च ज्वरो रहेका पुरुषको १:४५ र महिलाको १२:१५ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए ।
उनले वैशाख १४ गते अस्पताल भर्ना भएका पुरुषको सोही दिन पीसीआर विधिबाट परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको थियो भने १३ गते अस्पताल भर्ना भएकी महिलाको सोही एन्टिजेन परीक्षण गर्दा सङ्क्रमित भएको पत्ता लागेको बताए ।
पछिल्लो तीन दिनभित्र नारायणी तथा नारायणी बयोधा अस्पतालमा उपचारत ११ सङ्क्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
पछिल्लो समय कोरोना संक्रमितको दर बढ्नुका साथै मृत्यु हुनेको संख्या पनि बढेको मन्त्रालयले जनाएको छ ।
यसैबीच कोरोना संक्रमण रोकथामका लागि भन्दै सरकारले आज राति १२ बजेदेखि उपत्यका (काठमाडौं, भक्तपुर, ललितपुर) मा निधेषाज्ञा जारी गरेको छ ।
प्रतिक्रिया