आइतबार, वैशाख १४, २०८२

भेरी अस्पताल जानै मान्दैनन् चिकित्सक

नेपालखोज २०७८ वैशाख १७ गते १४:०८

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले बैशाख १३ गते पाँच पदका लागि ६० जना कर्मचारीको आव्हान गर्‍यो। तीन दिने त्यो दरखास्त आव्हानको सूचनाको म्याद सकिएको छ। अस्पतालले एनेस्थेसियोलोजिष्ट तीन जना ९९ औं तह, मेडिकल अधिकृत १० जना ९८ औं तह, नर्सिङ अधिकृत दुई जना ९७ औं तह ल्याब टेक्निसियन ५ जना ९५ औं तह० र स्टाफ नर्स ४० जना ९५ औं तह० करारमा माग गरेको थियो।

अस्पतालले माग गरेको एनेस्थेसियोलोजिष्ट तीन जना ९९ औं तहमा एकजनाको पनि निवेदन परेको छैन । नर्सिङ अधिकृत, ल्याब टेक्निसियन र स्टाफ नर्समा भने माग गरेको भन्दा धेरै निवेदन परेको छ । अस्पतालले कोभिड–१९ को संक्रमणको कारण जटिल लक्षण सहितका संक्रमितहरु आउने क्रम दिनानुदिन बढिरहेका कारणले त्यस्ता संक्रमितको हेरचाह तथा उपचारका लागि भेरी कोभिड आइसोलेसन वार्डमा काम गर्नको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त बजेटबाट तलव भत्ता भुक्तानी हुने गरी २०७८ असार मसान्त सम्मका लागि सेवा करार प्रक्रियाबाट पदपूर्ति गर्नका लागि कर्मचारी आव्हान गरेको थियो ।

अस्पताल स्रोतका अनुसार, मेडिकल अधिकृतको दुई वटामात्रै दरखास्त परेको छ। तीन वटा दरखास्त परेकोमा एकजनाले नआउने जानकारी गराएका छन्। कोरोनाका बिरामीको चाप बढेपछि अस्पतालले करारमा कर्मचारी माग गरेको थियो। ‘हामीलाई मेन डाक्टर चाहिएको थियो । मुख्य पदमा नै दरखास्त परेन, अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले भने, ‘पहिला जागीरका लागि मारामार हुन्थ्यो, अहिले जागीर खान आऊ भन्दा पनि कोही आउँदैनन्।’

प्रतिक्रिया