घाउहरूको मौन हर्ष जुलुस

गाउँगाउँबाट निस्किए
सहर-सहरबाट निस्किए
देशभरिबाटै निस्किए !
आलो घाउ
पुरानो घाउ
पाक्दै गरेको घाउ
पाकेर टन्किएको घाउ
उकुच पल्टिएको घाउ
आँगन चोक सडक
गाउँ सहर देश
सबै सबै घाउले पुरिए !
घाउको जुलुसमा
कुनै नारा थिएन
कुनै नेता थिएन
कुनै कोण भाषण थिएन
दर्शक श्रोता कोही थिएन !
अगाडि पछाडि
बर्दीधारी सुरक्षा दस्ता थिएन !
घाउहरू उन्मुक्त थिए
हाँसिरहेका थिए
खित्का छाडिरहेका थिए
अट्टहास गरिरहेका थिए
आनन्दले लोटपोट भइरहेका थिए !
अचानक तिनीहरूले
प्लेकार्ड देखाए
“यो हाम्रो हर्ष जुलुस हो”
“हामी सन्तुष्ट छौं”
“हामीलाई पीडा प्रिय छ”
“कष्टहरू हाम्रा गहना हुन्”
यस्तै यस्तै प्लेकार्डहरू
जुलुसमा अनन्त: देखिए !
देशका शासकहरू भने
“सुशासनको अन्तर्राष्ट्रिय पदक” प्राप्तिको
सुखद खबरले
चौरासी व्यञ्जनसहित
मद्य मांसको उत्ताउलो अखण्ड भोजमा
बाजा गाजासहित सुन्दरीहरूसित
नाचगानमा मस्त थिए
र यौटा अर्कै संसारमा हराइरहेका थिए
उनीहरूलाई घाउहरूको मौन हर्ष जुलुसले
राष्ट्र परिक्रमा गरेको
अत्तो पत्तो नै भएन !

गोविन्द गिरी प्रेरणा
गोविन्द गिरी प्रेरणा नेपालखाेजका स्तम्भकार हुन् ।
प्रतिक्रिया