मंगलबार, वैशाख १८, २०८१

प्रसूति सेवा नपाउँदा महिलाको मृत्यु

नेपालखोज २०७८ वैशाख २० गते १७:११

डडेल्धुरा । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–४ खलंगा निवासी ३४ वर्षीया रेखा ओडको प्रसुति सेवा नपाउदा मृत्यु भएको छ। आईतवार राति डडेल्धुरा अस्पतालमा प्रसुतिका लागि गएकी उनलाई अस्पतालले समय नभएको जानकारी गराएपछि उनी उपचार नपाएर आफ्नो कोठामा फर्किएकी थिईन ।

परिवारिक श्रोतकाअनुसार अस्पतालबाट उपचार नपाएर फर्किएकी उनले राति करिव २ बजे घरमै वच्चा जन्मिएकी थिइन। बच्चा जन्मिएपछि निरन्तर रक्तश्रावका कारण उनको मृत्यु भएको स्थानीय अधिकारकर्मी किशोरी धामीले जानकारी दिइन् । मृतक ओडका दुई छोरा दूई छोरी छन। आमाको निधन पश्चात पनि नवजात शिशुको अवस्था सामान्य रहेको र हाल नवजात शिशुलाई डडेल्धुरा अस्पतालको नवजात शिशु सघन उपचार कक्षमा उपचारपछि घर पठाइएको डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले जानकारी दिए। उनले अस्पतालमा कोरोना महामारीका बिरामीहरुको चाँप बढ्दै गएकाले समान्य अवस्थामा सुत्केरी हुनसक्ने देखिएकाले घर पठाइएको बताए।

डडेल्धुरा अस्पतालले मध्यरातमा मृतक महिला अस्पतालमा आएको र नजिकै घर भएकाले स्वास्थ्य अवस्थामा समस्या भएमा तुरुन्तै अस्पताल आउन सकिने भन्दै घर फर्काएको जनाएको छ । सिमित स्वास्थ्यकर्मीहरु भएकाले कोरोना महामारीका बेला स्वास्थ्यकर्मीहरुको व्यस्तताका कारण उपचार सेवा प्रभावित भईरहेको अस्पताल प्रशासनले जनाएको छ । रक्तश्राव हुने बित्तिक्कै पुनः अस्पताल ल्याउन सकिएको भएमा महिलाको अकाल मृत्यु हुन नसक्ने अस्पताल प्रशासनले जनाएको छ।

यस सम्बन्धमा सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशानालय दिपायलका निर्देशक डा. गुणराज अवस्थीले अस्पतालमा उपचार नपाएर सुत्केरीको अकाल मत्यु भएको बारेमा कुनै जानकारी नभएको बताए । कोरोना महामारीका कारण उपचार सेवा प्रभावित भएकाले दीर्घरुपमा औषधी सेवन गर्ने बिरामीहरुका लागि सम्बन्धित जिल्लास्थित स्वास्थ्य कार्यालयबाट निशुल्क औषधी उपलब्ध गराइने सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशानालय दिपायलले जनाएको छ ।

प्रतिक्रिया