मंगलबार, असार १०, २०८२

मुख्यमन्त्री पदको शपथ लिँदै ममता बनर्जी, सौरभ गांगुलीसहित अरु कसलाई बोलाइयो

नेपालखोज २०७८ वैशाख २२ गते ८:४४

कोलकाता । विधानसभाको चुनावमा जित हासिल गरेसँगै टीएमसी अध्यक्ष ममता बनर्जीले आज मुख्यमन्त्री पदको शपथग्रहण गर्ने भएकी छन् । लगातार तेस्रोपटक राज्यसभाको नेतृत्व सम्हाल्न लागेकी बनर्जीको शपथग्रहण समारोहमा निश्चित व्यक्तिहरुलाई मात्र आमन्त्रण गरिएको छ ।

बिहान पौने ११ बजे हुने शपथ समारोह कोरोना संक्रमणका कारण ५५ मिनेटमै सक्ने तयारी छ । शपथग्रहण समारोहमा ममताले आफ्ना भतिजा अभिषेक बनर्जी र प्रशान्त किशोर सहभागी हुने एबीपी न्युजले समाचारमा जनाएको छ ।

शपथ ग्रहण कार्यक्रममा बीसीसीआई प्रमुख सौरभ गांगुली, टीएमसीका महासचिव पार्थ चटर्जी , वरिष्ठ नेता सुव्रत मुखर्जी, राज्यका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यलाई आमन्त्रण गरिएको छ । योसँगै लेफ्टका अध्यक्ष विमान बोस, बंगाल बीजेपीका अध्यक्ष दिलीप घोष, बीजेपीका नेता मनोज टिग्गा, कांग्रेस नेता अब्दुल मन्नान, प्रदीप भट्टाचार्य, अधीर रञ्‍जन चौधरीलाई पनि कार्यक्रममा बोलाइएको छ । तर कांग्रेसका तर्फबाट अहिलेसम्म निमन्त्रणा पाएको कतैबाट पुष्टि भएको छैन ।

मुख्यमन्त्रीको शपथ ग्रहणपछि ममता बनर्जी सोझै नबन्ना जानेछिन् । नबन्नामा उनलाई गार्ड अफ अनर दिइनेछ । पश्चिम बंगाल विधानसभा चुनावमा टीएमसी २९२ मध्ये २१३ सिटमा विजयी हासिल गर्दै लगातार तेस्रोपटक सत्तामा पुगेको हो । बीजेपीको भने ७७ सिटमा जित हासिल भएको थियो भने दुई सिटमा अन्यको जित भएको थियो ।

प्रतिक्रिया