महासंघले भन्यो- ‘निषेधाज्ञाको मापदण्डमा निर्माण गर्न सकिन्न’

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले निषेधाज्ञाका कारण सरकारले तोकेको मापदण्डमा रही निर्माणका काम सञ्चालन गर्न कठिन भएको जनाएको छ ।
निर्माण सामग्री ढुवानीलगायत काममा प्रयोग भएका गाडीलाई ठाउँठाउँमा रोक्न लगाएर सहजरूपमा पाससमेत उपलब्ध नगराइएको गुुनासो महासङ्घले गरेको छ । निर्माण सामग्रीका केही उद्योग खुले पनि तिनका डिलर र वितरक पसल बन्द रहेकाले निर्माण सामग्रीको अभाव र ढुवानीमा देखिएको समस्या विकराल बन्दै गइरहेको उसले जनाएको छ ।
कोभिड-१९ को बढ्दो सङ्क्रमणसँगै राजधानीसहित विभिन्न जिल्लामा जारी निषेधाज्ञाकै फाइदा उठाउँदै निर्माण सामग्रीमा गरिएको चर्को मूल्यवृद्धितर्फ पनि महासङ्घको गम्भीर ध्यानाकर्षण भएको महासचिव रोशन दाहालले बुधबार बेलुकी जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वैशाख २१ गते सिसीएमसीले जारी गरेको सूचनामा विकास निर्माण सम्बन्धमा सम्बन्धित आयोजनाले नै आवासीय कामदार राखी अनिवार्यरूपले स्वास्थ्य मापदण्ड पालना गर्दै कार्य सञ्चालन गर्ने गराउने उल्लेख भए पनि श्रमिक काम गर्न डराउने स्थिति उत्पन्न भएको छ ।
सडक, सिँचाइका काम तोकिएकै सीमित स्थानमा नहुने भएकाले सङ्क्रमण सर्ने त्रास छ । कतिपय स्थानमा सङ्क्रमण फैलने डरले विशेषगरी शहरी क्षेत्रका र साना तथा मझौला निर्माण स्थलमा जनघनत्व हुने भएकाले निर्माण गर्न कठिन हुने देखिएको महासङ्घले जनाएको छ । बिहान काममा जाने तथा बेलुका निवास स्थलमा फर्कने गरेका कैयन कामदार निर्माण सामग्री ढुवानी लोड अनलोड इत्यादि गर्दा एकअर्कासँग प्रत्यक्ष सम्पर्क हुन्छ ।
निर्माणस्थलमा खटिएका कोही कसैको सङ्क्रमणले गर्दा मृत्यु भएमा वा सङ्क्रमण भएकाको उपचारमा लाग्ने खर्चका कारण निर्माण क्षेत्रले क्षति बेहोर्नु पर्ने स्थिति आएको महासङ्घको भनाइ छ ।
प्रतिक्रिया