बुधबार, असार ११, २०८२

चीनको एक रकेटको ठूलो टुक्रा पृथ्वीतर्फ खस्दै

नेपालखोज २०७८ वैशाख २४ गते २०:४१

काठमाडौं । चीनको एक रकेटको ठूलो टुक्रा पृथ्वीतर्फ खसिरहेको छ । यसै हप्ता पृथ्वीमा खस्ने यसमा कुनै नियन्त्रण नरहेको बीबीसीले जनाएको छ । यो रकेटको टुक्रा कहाँ खस्छ भन्ने अहिलेसम्म यकिन भइसकेको छैन् । ‘लङ मार्च फाइभ बी’ नामक रकेट चीनले हाइनान द्वीपबाट गत अप्रिल २९ मा प्रक्षेपण गरेको थियो ।

पृथ्वीतर्फ खसिरहेको टुक्राको वजन १८ टन रहेको छ । दशकौंमा पृथ्वीको वायुमण्डलमा अनियन्त्रित हुँदै खस्ने यो सबैभन्दा ठूलो बस्तु हुने समाचारमा उल्लेख छ । यसमाथि चीन मात्रै होइन अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पनि चासो दिएको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले रकेटको टुक्रा समुन्द्र वा ठूलो क्षति नहुने खुला स्थानमा खस्ने आशा गरिएको बताएका छन् ।

अन्तरिक्षसम्बन्धी विज्ञहरुले भने यो वस्तु आइतबारसम्म पृथ्वीमा खस्ने अनुमान गरेका छन्। तर यस्तो विषयमा केही पनि यकिनका साथ भन्न नसकिने उनीहरुको भनाई छ । सामान्यतया रकेटको टुक्रा पृथ्वीको बायुमण्डलमा प्रवेश गरेपछि जल्न सुरु गर्छ तैपनि केही भाग बाँकी रहेर पृथ्वीमा खस्ने संभावना कायमै रहने समाचारमा उल्लेख छ ।

एक वर्षअघि पाइप आकारको रकेटको टुक्रा अफ्रिकाको आइभरी तटमा खसेको थियो । चीनले यो रकेटको टुक्रा पनि अन्तर्राष्ट्रिय समुन्द्रमा खस्ने दाबी गरेको छ । विज्ञहरुले चीनमाथि यति ठूलो बस्तु पृथ्वीमा जानीबुझीकन छोडेको आरोप लगाएका छन् ।

प्रतिक्रिया