मंगलबार, वैशाख १८, २०८१

संयुक्त आइसोलेसनको व्यवस्थापन

नेपालखोज २०७८ वैशाख २७ गते १३:२३


बनेपा । कोरोना सङ्क्रमणको अवस्था झन् बढ्दै गएपछि यहाँका स्थानीय तहले आइसोलेसन व्यवस्थापन गरेका छन् । काभ्रेपलाञ्चोकका भुम्लु गाउँपालिकाले सङ्क्रमितको उपचारका लागि थप सहजता सिर्जना गर्न पाँचखालमा पाँचखाल नगरपालिकासँगको साझेदारीमा आइसोलेसन केन्द्रको व्यवस्थापन गरेको हो ।

पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाले संयुक्तरुपमा आइसोेलेसन व्यवस्थापन गर्न आइतबार दुवै पालिकाबीच व्यवस्थापकीय विषयमा साझेदारीरुपमा काम गर्ने गरी १२ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

पाँचखाल-४ मा रहेको समाजकल्याण प्राथमिक विद्यालयको भवनमा ५० श्ययाको संयुक्त आइसोलेसन बनाउने विषयमा पाँचखालका नगरप्रमुख महेश खरेल र भुम्लुका अध्यक्ष गुमानध्वज कुँवरले समझदारी पत्रमा हस्ताक्षर गरे ।

हस्ताक्षरसँगै व्यवस्थापनको कामसमेत अगाडि बढाइएको हो । जिल्लामा पनि कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर फैलिरहेको अवस्थामा उच्चरुपमा सङ्क्रमित दरमा वृद्धि हुँदै गएपछि त्यसको रोकथाम र नियन्त्रणका लागि आवश्यक पूर्वतयारी स्वरुप दुवै पालिका आइसोलेसन कक्षको व्यवस्थापनमा जुटेका ती पालिकाले जनाएका छन् ।

आइसोलेसन व्यवस्थापनका लागि आवश्यक पर्ने पूर्वाधार व्यवस्थापन, स्वास्थ्यकर्मीको व्यवस्थापन, रेखदेख र सरसफाई संयुक्त गर्ने, स्वास्थ्य सामग्री व्यवस्थापन संयुक्त गर्ने, खाना-खाजा खर्च संयुक्त गर्ने, उपकरण संयुक्त खरिद गर्ने आइसोलेसनका लागि आवश्यक जनशक्ति दुवै पालिकाले परिचालन गर्दै कोभिड-१९ विरुद्धको अभियानलाई प्रभावकारी बनाउने विषयमा सहमति भएको छ ।

आइसोलेसन केन्द्रमा रहेका सबै श्ययामा अक्सिजनसहितको अत्यावश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन गरिएको छ भने चौबीसै घण्टा स्वास्थ्यकर्मीले हेरचाह र निगरानी गर्ने व्यवस्था गरिएको छ ।

सो केन्द्रमा उपचाररत बिरामीलाई थप उपचार गर्नुपर्ने अवस्था भएमा दुवै पालिकाको समन्वयमा थप उपचारको लागि पठाइने व्यवस्था मिलाउने बारेमा समेत सहमति गरेको छ ।

केन्द्रको रेखदेख र सरसफाइकर्मी व्यवस्थापनका लागि दुवै पालिकाले पारिश्रमिक खर्चसमेत आधा÷आधा व्यहोर्ने गरी काम अगाडि बढाइएको छ ।

आइतबार नै सो केन्द्रमा दूई जनालाई आइसोलेसनमा राखेर उपचार शुरु गरिएको भुम्लुका अध्यक्ष कुँवरले बताए । यसअघि पाँचखालले आफ्नै सक्रियतामा अक्सिजनसहित १५ शय्याको आइसोलेसनको व्यवस्थापन गरिसकेको थियो ।

पछि दुवै पालिकाको समन्वयमा सोही केन्द्रमा थप ५० श्ययाको आइसोलेसन व्यवस्थापन गरिएको हो । केन्द्रको सुरक्षाका लागि सशस्त्र प्रहरी बल पाँचखालले सुरक्षा दिइरहेको छ ।

यसअघि नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्तरुपमा नमोबुद्धको नौविसेमा रहेको जनक बहुमुखि क्याम्पसमा ४० श्ययाको आइसोलेसन कक्षको स्थापना गरेर सञ्चालनमा ल्याएको छ ।

भुम्लुले थप पूर्वतयारीका लागि वडा नं ७ भुम्लुवेंशीमा यही वैशाख १ गतेदेखि नै पाँच शय्याको ‘भुम्लु आधारभूत अस्पताल’ सञ्चालनमा ल्याएको छ । त्यसरी सञ्चालन गर्दै आएको अस्पतालका डाक्टर नै सङ्क्रमित भएपछि सेवा बन्द गरिएको अस्पताल पुनःसञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष कुँवरले बताए ।

त्यस्तै पनौती नगरपालिका-४ को नयाँ निर्मित वडा कार्यालयको भवनमा २५ श्ययाको आइसोलेसन कक्षको व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको छ । केन्द्रमा अक्सिजनसहितको व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया