सोमबार, वैशाख १५, २०८२

सिलिन्डर व्यवस्थापनमा जुट्दै गाउँपालिका

नेपालखोज २०७८ वैशाख २८ गते १३:१०


तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले आँबुखैरेनी गाउँपालिकालाई सिलिन्डर हस्तान्तरण गरेको छ । कोभिड सङ्क्रमण बढेपछि बजारमा अक्सिजन सिलिन्डर अभाव भएकाले केन्द्रले मर्मत प्रयोजनका लागि भण्डार गरी राखेको १२ थान ठूलो सिलिन्डर गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

अक्सिजन सिलिन्डरको उपलब्धता भएपछि जलविद्युत् केन्द्रलाई फिर्ता दिने गरी सिलिन्डर ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।

उनका अनुसार नौ थान भरी सिलिन्डर र तीन थान खाली सिलिण्डर ल्याइएको छ । खाली सिलिन्डरलाई आज नै भर्न पठाइने पोखरेलले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत पोखरेलका अनुसार गाउँपालिकामा यस अगाडि दुईवटा भरी सिलिन्डर छ ।

थप सिलिन्डरको पनि खोजी कार्य गरिएको पोखरेलले जानकारी दिए । “आँबुखैरेनी गाउँपालिका जिम्मेवार भएर सङ्कट व्यवस्थापनमा जुटिरहेको छ”, पोखरेलले भने ।

जलविद्युत् केन्द्रले उपलब्ध गराएको सिलिन्डर लिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेल, वडा नं ३ का सदस्य दिनेश केसी आफैँ पुगेका थिए ।

आइतबार मात्रै गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाको पहलमा एक कर्मचारीलाई उद्धार गरी काठमाडौँ पठाइएको थियो । प्रदेश सरकार मातहत कार्यालयका कर्मचारीलाई श्वासप्रश्वासमा समस्या भएपछि अध्यक्ष थापाको सक्रियतामा एम्बुलेन्स व्यवस्थापन गरिएको थियो ।

प्रतिक्रिया