टेलिकमकाे लकडाउन स्टे कनेक्टेडअन्तर्गत अनलिमिटेड डे डाटा

काठमाडौं । नेपाल टेलिकमले लकडाउन स्टे कनेक्टेडअन्तर्गत अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा बोनस दिने भएको छ । कोभिड–१९ का कारण मुलुकका धेरै स्थानमा निषेधाज्ञा र लकडाउनको अवस्था छ ।
यस विषम् परिस्थितिलाई मध्यनजर गरी नेपाल टेलिकमले वैशाख ३१ देखि एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफरका रुपमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको हो, टेलिकमले विज्ञप्तिमार्फत भनेको छ ।
अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपैयाँमा उपलब्ध हुनेछ । सो डाटा प्याकको स्पिड १ एमबीपीएससम्म हुनेछ । यस अफरअन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घण्टाको हुनेछ ।
दैनिक रुपमा एकपटक मात्र सो प्याक खरिद गर्न सकिनेछ । यो प्याक बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र चलाउन सकिने भएकाले सो समय अघिपछि डाटा चलाउँदा ग्राहकले खरिद गरेको अन्य डाटा प्याक वा पे एज यू गो उपयोग हुनेछ ।
यस अवधिमा एमपोस अर्थात विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराइनेछ । २०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा ५०० एमबी डाटा उपलब्ध गराइनेछ र सो डाटा २ दिनभित्र प्रयोग गर्न सकिनेछ ।
यसैगरी ५०० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा १०२४ एमबी डाटा उपलब्ध गराइनेछ र सो डाटा ४ दिन भित्र प्रयोग गर्न सकिनेछ । यी अफरहरु फोरजी नेटवर्कमा प्रयोग गरी तीव्र गतिको डाटा प्रयोग गर्ने अवसरको सदुपयोग गर्न सकिन्छ ।
साथै, आफ्नो मोबाइलको सिमले फोरजी नेटवर्क प्रयोग गर्न सक्ने, नसक्ने जाँच गर्न तथा फोरजी नेटवर्क एक्टिभेट गर्नका लागि *444# डायल गर्नुपर्ने टेलिकमले जनाएको छ ।
प्रतिक्रिया