अक्सिजनको क्षमता बढाउँदै अस्पतालहरू

चितवन । जिल्लामा अक्सिजन अभाव हुन थालेपछि यहाँका अस्पतालले प्लान्टको क्षमता विस्तार गर्न थालेका छन् । बाहिरी जिल्लाबाट अक्सिजन आउन छाडेपछि मागअनुसार अक्सिजन पुर्याउन कठिन भएको छ । जिल्लाका दुई मेडिकल कलेज र भरतपुर अस्पतालले प्लान्ट विस्तार गर्न लागेका हुन् ।
जिल्लामा कोरोनाको उपचार गराइरहेका दुई सरकारी र दुई मेडिकल कलेजमा आफ्नै प्लान्ट भएपनि बिरामीको सङ्ख्या बढेपछि उद्योगबाट अक्सिजन ल्याउनु पर्ने बाध्यता रहेको छ ।
पुरानो मेडिकल कलेजले गैँडाकोटमा रहेको आफ्नो प्लान्टलाई विस्तार गर्दैछ । अस्पतालका आवासीय निर्देशक डा मनोहर प्रधानले २४ घण्टामा ४०० सिलिन्डर उत्पादन हुँदै आएकामा २०० सिलिन्डरकाे क्षमता थप गर्न लागिएको बताए ।
उद्योगमा यसअघिनै प्लान्ट भएको भन्दै उनले ट्रान्सफरमर र स्टेपलाइजर जडान गरी यसै हप्ता थप उत्पादन गर्ने तयारी गरिएको उनले जानकारी दिए । सो मेडिकल कलेजमा हाल दैनिक ३०० सिलिन्डर आवश्यक पर्ने गर्दछ ।
चितवन मेडिकल कलेजले एक दिनमा ६०० सिलिन्डर उत्पादन हुने नयाँ प्लान्ट ल्याउँदै छ । अस्पतालका अध्यक्ष एवं प्रबन्धनिर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले एलसी खोलेर प्रक्रिया अघि बढेको बताए । हाल अस्पतालको प्लान्टले २०० सिलिन्डर अक्सिजन हाराहारी उत्पादन गर्दै आएको ।
बिरामीको चाप बढेपछि हाल दैनिक ४०० सिलिन्डर अक्सिजनबाहिरबाट ल्याउनुपरेको छ । भरतपुर अस्पतालले नयाँ प्लान्ट थप गर्ने तयारी गरेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयबाट रु १२ करोड बजेट आउने भएकाले छिट्टै प्रक्रिया अघि बढाइँदै छ ।
दैनिक थप २४० सिलिन्डर उत्पादन हुने गरी प्लान्ट जडान गर्न लागिएको उनको भनाइ छ । भरतपुर अस्पतालमा हाल रहेको प्लान्टले दैनिक ७५ सिलिन्डर अक्सिजन उत्पादन गर्छ भने खपत २०० भन्दा बढी रहेको छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार दैनिक एक हजार २०० सिलिन्डर जिल्लाका अस्पतालहरूमा आवश्यक पर्दछ । यहाँका चार अस्पताल र एउटा निजी उद्योगको गरी ८८० सिलिन्डर मात्रै उत्पादन हुँदै आएको छ । दैनिक ३२० सिलिन्डर अक्सिजन जिल्लामा अपुग भएको उनले जानकारी दिए ।
जिल्लाको तथ्याङ्कलाई हेर्दा यहाँका अस्पताल र घरायसी प्रयोजनका लागि ६८० सिलिन्डर दैनिक अभाव हुने गरेको छ । यहाँ रहेको एकमात्र अक्सिजन ग्यास उद्योग स्वर्गद्वारीको दैनिक उत्पादन ३६० सिलिन्डर भए पनि दैनिक ३२० सिलिन्डर बाहिरी जिल्लाको भर पर्नुपरेको छ ।
प्रतिक्रिया