आइतबार, असार २२, २०८२

बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जा दुुबैमा वृद्धि

शाखा बढ्दा प्रतिशाखा सेवाग्राहीको संख्या घटेर दुुई हजार आठ सय २१ मा झर्याे

नेपालखोज २०७८ जेठ ५ गते १२:३९



काठमाडौं । बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जा दुुबै बढेको छ । चालुु आर्थिक बर्षको पछिल्लो नौ महिनाको अवधिमा बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जा रकम गतको सोही अवधिमा तुलनामा नौ देखि २१ प्रतिशतसम्म बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १३ दसमलव सात प्रतिशत अर्थात पाँच खर्ब २४ अर्ब ६३ करोड रुपैयाँले बढेको हो ।

गत आवको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुको यस्तो निक्षेप नौ दसमलव सात प्रतिशत अर्थात तीन खर्ब १२ अर्ब ५५ करोड रुपैयाँले बढेको थियो ।

बैंक तथा फाइनान्स कम्पनीहरुबाट नीजि क्षेत्रमा प्रवाह भएको कर्जा रकम भने चालु आवको पछिल्लो नौ महिनाको अवधिमा २१ दसमलव आठ प्रतिशत अर्थात सात खर्ब १५ अर्ब ३२ करोड रुपैयाँले बढेको छ ।

राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा भने यस्तो कर्जा १२ दसमलव सात प्रतिशत अर्थात तीन खर्ब ७० अर्ब नौ करोड रुपैयाँले बढेको थियो ।

बैंक तथा वित्तीय संस्था (लघुवित्त वित्तीय संस्था समेत) को चुक्ता पूँजी २०७७ असार मसान्तमा तीन खर्ब ५२ अर्ब ३७ करोेड रहेकोमा २०७७ चैत मसान्तमा १० दसमलव सात प्रतिशतले बढेर तीन खर्ब ९० अर्ब १५ करोेड पुगेको छ ।

यस अवधिमा पुँजीकोष पाँच खर्ब २१ अर्ब ७० करोडबाट १३ दसमलव आठ प्रतिशतले वृद्धिभई पाँच खर्ब ९३ अर्ब ७६ करोड पुगेकोे छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाका शाखा विस्तारसँगै वित्तीय पहुँच पनि बढेको छ ।

२०७७ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या नौ हजार सात सय ६५ रहेकोमा चालु आवको चैत मसान्तमा १० हजार पाँच सय ४६ पुगेको छ ।

उक्त अवधिमा प्रति बैंक शाखा जनसंख्या अर्थात प्रतिशाखा सेवाग्राहीको संख्या तीन हजार ७२ बाट झरेर दुुई हजार आठ सय ८१ कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार चालुु आवको पछिल्लो नौ महिनामा बैंक तथा वित्तीय संस्थामा खोलिएका निक्षेप खाता संख्यामा वृद्धि भएर तीन करोड ६३ लाख तथा मोवाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या एक करोड ३६ लाख पुगेको छ ।

यसैगरी २०७७ चैतसम्म सात सय ५० स्थानीय तहमा वाणिज्य बैंकहरूको कम्तिमा एक शाखा पुगेको छ । २०७६ चैत्रसम्म यस्तो संख्या सात सय ४५ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया