रातो मच्छिन्द्रनाथलाई यसरी लगियो ललितपुरको बुङ्मती (फोटो फिचर)

काठमाडौं । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज बुङ्मतीसम्म तानिएको छ । मुलुकमा बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरिएन्टका कारण यसबाट हुनसक्ने क्षतिलाई अनुमान गरी मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणायन लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलनानुसार यस वर्ष छिट्टै बुङ्मती ल्याएएको ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताए ।
मुलुकमा कोरोना कारण सङ्क्रमणका साथै मृत्युदर पनि बढ्दै जाँदा लोकेश्वरलाई बुङ्मती पठाउँदा सुरक्षा व्यवस्था कडा पारिएको गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख खिमा वलीले बताए । गत मङ्सिरमा मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियो । यही जेठ १ गते पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट सुस्तरी सुस्तरी लगभग डेढ सय मिटर पर सोह्रखुट्टे पाटीसम्म रथ तानेर परम्परा धान्ने काम सम्पन्न गरिएको थियो ।
त्यसैगरी बैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराइएको थियो भने चैतकृष्ण प्रतिपदाका दिन रक्तवलोकेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो । उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा मच्छिन्द्रनाथ जात्रालाई मनाउने गरिन्छ । किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए ।
यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामरुकामाक्षबाट नेपाल ल्याएका थिए ।




प्रतिक्रिया