मंगलबार, वैशाख १६, २०८२

वाग्मती प्रदेश मातहतका सबै अस्पतालमा अब अक्सिजन प्लान्ट स्थापना, एक साताको सीमा राखेर टेन्डर आह्‍वान

नेपालखोज २०७८ जेठ ११ गते १६:४६

हेटौंडा । वाग्मती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न मंगलबार टेन्डर आह्‍वान गरेको छ ।

कोभिड महामारीलाई मध्यनजर राख्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक खरिद अनुगमन कार्यालयमार्फत एक साताको समयसीमा राखेर टेन्डर आह्वान गरेको हो । मन्त्रालयले प्रदेश मातहतमा रहेका काठमाडौंको टोखा, ललितपुरको वज्रबाराही, दोलखाको चरिकोट, रामेछापको रामेछाप अस्पताल, काभ्रे मेथिनकोट, धादिङ अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल र चितवनको बकुलहर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो ।

यी अस्पतालहरुमा अक्सिजन अभाव नहोस् भनेर एक महिनाभित्र प्लान्ट स्थापना गरिसक्ने मन्त्रालयले जनाएको छ । यसअघि अक्सिजन प्लान्ट नभएका अस्पतालहरुमा पनि प्लान्ट निर्माण गर्ने निर्णयअनुरुप प्लान्ट निर्माण गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ ।

एक महिनाभित्र अक्सिजन प्लान्ट स्थापना भइसक्छ : मन्त्री बस्नेत
सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले एक महिनाभित्र ती अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्ने गरी छोटो प्रक्रियाबाट खरिद प्रक्रिया सुरु गरेको बताइन् ।

प्रदेश मातहतमा रहेका १३ मध्ये ६ वटा अस्पतालमा यसअघि नै सञ्‍चालनमा रहेको छ र बाँकी अस्पतालमा स्थापना गरेर प्रदेश मातहतका सबै अस्पतालहरुलाई सुविधायुक्त बनाउन अक्सिजन प्लान्ट राख्न लागिएको बताइन् ।

साथै मन्त्री बस्नेतले कोभिडविरुद्ध लड्नका लागि कुनै कसर बाँकी नराख्ने भन्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताइन् ।

यसअघि सामाजिक विकास मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा एकएक वटा पीसीआर मेसिन राख्ने निर्णय गरिसकेको छ ।

कोभिडको दोस्रो लहर बढेसँगै वाग्मती प्रदेश सरकारले ‘एक जिल्ला एक पीसीआर मेसिन’ राख्‍ने निर्णय गरेर आवश्यक प्रक्रिया अघि बढाइसकेको छ ।

प्रतिक्रिया