कोभिड उत्पत्तिबारे पारदर्शी तरिकाले छानबिन गर्न डब्ल्यूएचओलाई अमेरिकाको आग्रह

अमेरिका । अमेरिकाले कोभिड–१९ को उत्पत्तिबारे पारदर्शी तरिकाले छानविन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई आग्रह गरेको छ । अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले कोरोनाबारे अर्को चरणको छानबिनको पारदर्शीता सुनिश्चित गर्न डब्ल्यूएचओलाई आग्रह गरेका हुन् ।
डब्ल्यूएचओको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले कोरोनाभाइरसको स्रोत मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई अनुमति दिइनुपर्ने बताएका हुन् । कोभिड–१९ सबैभन्दा पहिला सन् २०१९ मा डिसेम्बेरमा चीनको हुबेई प्रान्तको वुहानमा देखिएको थियो ।
गत मार्चमा डब्ल्यूएचओले चिनियाँ वैज्ञानिकहरूसँग मिलेर जारी गरिएको संयुक्त विवरणमा उक्त भाइरसको उत्पत्ति कुनै प्रयोगशालामा भएको सम्भावना अत्यन्तै थोरै रहेको जनाएको थियो ।
त्यस्तै अमेरिकी जासूसी कम्पनीले एक रिपोर्ट सार्वजनिक गर्दै विश्वमा कोरोना महामारी फैलनुअघि नै चीनको वुहान प्रयोगशालाका तीन शोधकर्ता बिरामी परेको दाबी गरेको थियो । यद्यपी बेइजिङले भने अमेरिकी आरोप खारेज गर्दै कोरोना भाइरस अमेरिकी प्रयोगशालाबाट आएको आशंका गरेको थियो ।
प्रतिक्रिया