‘एन्टिजेन र पीसीआर परीक्षण नगराउने प्रवृत्तिले सिरहामा कोभिड-१९ जोखिम बढ्दै’

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहरले सिरहामा एन्टिजेनबाट २७२ र पीसीआरबाट २,९९७ जनाको परीक्षण भएको छ । जसमध्ये नेगेटिभ रिपोर्ट आएकाबाहेक सक्रिय संक्रमित ८६९ रहेका छन् । ३८ पुरुष र १८ महिला गरी ५६ जनाको मृत्यु भइसकेको छ । कोभिड-१९ को पहिलो चरणमा सिरहामा २५ जनाको मृत्यु भएको थियो ।
हाल दैनिक ६० जनाको औसतमा संक्रमित थपिने गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रदीपराज कँणेलले जानकारी दिए । दोस्रो चरणमा कोभिसिल्ड खोप ४,४९३ जनाले मात्र लगाएको उनको भनाइ छ । उनले भने, ‘सिरहा अस्पतालमा निःशुल्क कोभिड परीक्षणको व्यवस्था छ । यसका लागि सम्बन्धित वडाध्यक्षले आफ्नो स्वास्थ्य शाखामार्फत सिरहा अस्पतालसँग पूर्वसमन्वय गरी नागरिकको स्वाब संकलन गरेर कोभिड परीक्षण गराउन सहजीकरण गर्नुपर्नेछ ।’
सिरहा अस्पतालमा डीसीसीएमसीको निर्णयबाट जिल्ला प्रशासनले आईसीयू कक्ष निर्माण, ५ शय्याकोे आईसीयू, मनिटरसहित दुईवटा भेन्टिलेटर जडान गरी दिएको उनले बताए ।
‘सिरहा अस्पतालमा प्रदेश सरकारबाट थप २ भेन्टिलेटर र अक्सिजन प्लान्टसमेत जडान गरी सञ्चालित छ । भेन्टिलेटर चलाउने जनशक्तिको बजारमै अभाव छ,’ प्रजिअ कँणेलले जनाए । उनका अनुसार भएकालाई तालिम दिएर काममा ल्याउनुपर्ने बाध्यात्मक परिस्थिति छ । अक्सिजन प्लान्टबाट रिफिल गर्न जिल्ला प्रशासनले आफ्नो बजेटबाटै प्लान्ट जडान गर्न टेन्डर आह्वान गरी खरिद प्रक्रिया बढाएको पनि उनले जनाए ।

सिरहा अस्पतालमा विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरण सिरहाले हालै १०० केभीएको ट्रान्सफर्मर र अक्सिजन प्लान्टतर्फ अस्थायी मिटरसमेत नि:शुल्क जडान गरिदिएको छ ।
मुरारका अस्पताल लहानको अक्सिजन प्लान्ट समेतमा रिफिल गर्ने प्लान्टका लागि स्रोत खोज्ने कार्य भइरहेको छ । गोलबजार, धनगढीमाई, मिर्चैया, कर्जन्हा नगरपालिका र सखुवाननकारकट्टि गाउँपालिकाले आ-आफ्नो कोभिड अस्पताल पनि बनाएका छन् ।
लहान नपाले पशुपति माविमा आइसोलेसन सञ्चालनमा ल्याएको छ । सोबाहेक सरकारी र निजी गरी १५ अस्पतालले कोभिड संक्रमितलाई उपचार सेवा दिइरहेका छन् । बढ्दो संक्रमण न्यूनीकरण गर्न स्थानीय प्रशासनले २१ जेठसम्म सिरहा जिल्लाभरका लागि निषेधाज्ञा जारी गरेको छ ।
प्रतिक्रिया