बुधबार, असार ११, २०८२

कोभिड–१९ उत्पत्तिबारे थप अनुसन्धान गर्ने अमेरिकी प्रयासको चीनद्वारा आपत्ति

नेपालखोज २०७८ जेठ १४ गते १४:२१

काठमाडौं । चिनियाँ प्रयोगशालाबाट कोभिड–१९ को उत्पत्ति भएको हो कि होइन भन्नेबारे थप अनुसन्धान गर्ने अमेरिकी प्रयासको चीनले आपत्ति जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने आफ्नो अपेक्षा रहेको बताएका हुन् । चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई ‘राजनीतिक आवरण दिएको र अरूलाई दोषी देखाएको’ आरोप लगाएको छ ।

उसले कोभिड–१९ र चीनको वुहान शहरमा रहेको अनुसन्धान प्रयोगशालाबीच कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ । कोभिड–१९ को संक्रमण पहिलो पटक सन् २०१९ को अन्तिममा चीनको वुहानमा भेटिएको थियो ।

त्यसयता विश्वभरि झण्डै १७ करोड मानिसमा सङ्क्रमण पुष्टि भएको छ भने ३५ लाखभन्दा बढीले ज्यान गुमाएका छन् । चिनियाँ अधिकारीहरूले प्रारम्भिक सङ्क्रमण वुहानको समुद्री खानेकुरा पाइने बजारसँग जोडिएको बताएका थिए जसलाई आधार मान्दै वरिष्ठ वैज्ञानिकहरूले उक्त भाइरस जनावरबाट मानिसमा सरेको सैद्धान्तिक धारणा राखेका थिए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसै वर्षको स्थलगत अध्ययनपछि उक्त भाइरस कुनै प्रयोगशालाबाट बाहिर आउने सम्भावना एकदमै न्यून रहेको टिप्पणी गरेको थियो ।

उक्त अध्ययनका सहभागी डब्लयूएचओका भाइरोलोजिस्ट मारियोन कुपमेन्सले अमेरिकी निकायहरूसँग कुनै थप सूचना भए उनीहरूले त्यो उपलब्ध गराउनुपर्ने बतएको बीबीसीले जनाएको छ । तर अमेरिकी सञ्चारमाध्यमले पछिल्लो समय यो भाइरस चिनियाँ प्रयोगशालाबाट उत्पत्ति भएका प्रमाणहरू बढ्दै गएको र सम्भवतः दुर्घटनावश चुहिएको हुन सक्ने उल्लेख गरिएका छन् ।

प्रतिक्रिया