शुक्रबार, वैशाख ७, २०८१

बजेट खर्चको सुरुवात गएको वर्ष भन्दा निराशाजनक

नेपालखोज २०७६ असोज ५ गते १३:२८

५ असोज, काठमाडौँ । सरकारको बजेट खर्च गएको आर्थिक वर्ष भन्दा निराशाजनक देखिएको छ । चालु आर्थिक वर्षको २ महिना वित्दा पनि बजेट खर्च अवस्था गएको आर्थिक वर्षको तुलनामा आधा भन्दा कम भएको देखिन्छ ।

महालेखा नियन्त्रकको कार्यालयका सुचना अधिकारी निरज के.सीका अनुसार सरकारको बजेटबाट असोज २ गतेसम्म जम्मा ४.५६ प्रतिशत अर्थात ६९ अर्ब ८७ करोड ८ लाख रुपैयाँ मात्र खर्च भएको छ । यस आर्थिक वर्षमा चालु, पूँजीगत र वित्तीय खर्च गरि कूल बजेटको जम्मा साढे ४ प्रतिशत मात्र खर्च हुदाँ गएको आर्थिक वर्षको यही समयमा कूल बजेटको ८.३१ प्रतिशत अर्थात १ खर्ब ९ अर्ब २३ करोड ८८ लाख रुपैयाँ बजेट खर्च भएको थियो । यसले बजेट खर्च गत वर्षको तुलनामा पनि अझै घटेको देखाउछ ।

चालु आर्थिक वर्षमा सरकारले १५ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ । बाह्र महिनामा खर्च गरिसक्नुपर्ने यो बजेटमा समानुपातिक र सन्तुलित रुपमा खर्च गर्दा कूल बजेटको प्रति महिना ८.३३ प्रतिशत बजेट खर्च गर्नु आवश्यक पर्छ । तर, सरकारले दुई महिनामा ४.५६ प्रतिशतमात्र खर्च गर्नुले चालु आर्थिक वर्षमा पनि अन्तिम समयमा मात्र बढी खर्च हुने स्थितिको संकेत देखापरेको छ ।

बजेट खर्चको यस स्थितिले आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने प्रवृति जारी राख्ने देखिन्छ । असारे विकासलाई बढवा दिने खर्च प्रवृतिका कारण सरकारी निकायका कर्मचारीलाई चलखेल गर्दै अकुत सम्पति आर्जन गर्ने अवसर प्रदान भैैरहेको छ । सरकारले बजेट सार्वजनिक गर्दा समानुपातिक खर्च गर्ने जति सुकै प्रतिवद्धता गरे पनि कार्यान्वयन भने झन् झन् फितलो हुदै गएको छ ।

प्रतिक्रिया