बिहीबार, मंसिर २०, २०८१

बडादशैंको आठौं दिन दुर्गाको आठौं स्वरुप महागौरीको पूजा अर्चना गरिँदै

नेपालखोज २०७६ असोज १९ गते ६:१५

१९ असोज, काठमाडौं । बडादशैंको आज आठौँ दिन महाअष्टमी नवरात्रिभरि माता दुर्गाका ९ वटा रुपहरु शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ । आजको दिन भने दुर्गाको आठौं स्वरुप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ ।
गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा साना साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

आजको दिन हनुमान ढोकास्थित तलेजु भवानी मन्दिरको दशैं घरमा ५४ वटा राँगा र ५४ वटानै बोकाको वलि दिइन्छ । काठमाण्डौ उपत्यका वरिपरिका शक्तिपीठहरु जस्तै दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भग्वती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही लगायतका मन्दिरहरूमा पूजा आराधना गरी बलि चढाउनेहरुको घुइँचो लाग्ने गर्छ ।

त्यसैगरी सप्तरीको भारदहस्थित कंकालिनी देवीको मन्दिर लगायत सप्तरीकै छिन्नमस्ता मन्दिर, बारा जिल्लाको बरीयारपुरमा रहेको गढीमाई मन्दिर, पर्सा जिल्लाको वीरगञ्जस्थित विर्ता माई, गहवा माई, केहुनियास्थित विन्दवासिनी माई, अर्घाखाँची जिल्लाको सुपा देउराली मन्दिर, मोरङ्ग जिल्लाको विराटनगरमा रहेको काली मन्दिर, अछाम जिल्लाको मार्कुमा रहेको सान्नीकोट मन्दिर लगायत नेपालभरिकै शक्तिपीठहरुमा हजारौंको संख्यामा खसीबोका, राँगा, हाँस र कुखुरालाई वलि चढाइन्छ ।

काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारा लगायतका मन्दिरहरूमा पनि शक्तिरूपा भगवतीको पूजा अर्चना गर्दै दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ ।

प्रतिक्रिया