शुक्रबार, वैशाख ७, २०८१

ट्राफिक नियम पालना नहुँदा बढे दुर्घटना

नेपालखोज २०७६ कार्तिक १९ गते ८:१५

१९ कार्तिक, काडमाडाैं । नेपालीका लागि महत्त्वपूर्ण चाडबाडका बेला ‘भयानक तथा पीडादायी’ सवारी दुर्घटना नियतिजस्तै भएका छन् । यस वर्षको दशैँ, तिहार, नेपाल संवत् र छठ पर्व त्यस्ता दुर्घटनाबाट अछूतो रहन सकेनन् ।

दोलखाबाट काठमाडौंँ आउँदै गरेको बा. २ ख ७२४६ नम्बरको बस आइतबार दिउँसो सिन्धुपाल्चोकस्थित सुकुटेमा दुर्घटना भई सुनकोसी नदीमा खस्दा १७ जनाले ज्यान गुमाएका छन् । दुर्घटना भएको केही समयअघि म्याग्दीको बिम भीरमा ग. १ ज २४३६ नम्बरको मिनी बस दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका छन् भने २२ जना घाइतेको उद्धार गरिएको छ । बस भीरको बीचमा रूखमा अड्केको थियो ।

चाडपर्व मनाएर गन्तव्य फर्किंदै गरेको बेलामा भएका यस्ता दर्दनाक तथा पीडादायी दुर्घटनाले चालकको लापरबाही कि यात्रुको नियति भन्ने कुरालाई प्रस्ट पारेको छ । प्रहरी अधिकारीका अनुसार अधिकांश दुर्घटना चालक र यात्रुको कमजोरीका कारण हुने गरेका छन् ।

सिट क्षमताभन्दा बढी यात्रु बोक्दा भार थाम्न नसकी, ‘ब्रेकफेल’ भएर बारम्बार यस्ता दुर्घटना हुने गरेको दाबी प्रहरी अधिकारीको छ । यी दुई घटना हुनुभन्दा चार दिनअघि मेलम्चीबाट काठमाडौँ फर्किंदै गरेको बा. ५ ख ५०७० नम्बरको बस साँखुमा दुर्घटना भएको थियो ।उक्त दुर्घटनामा तीन जनाको मृत्यु र २४ जना घाइते भए । दशैँ र तिहार मनाएर फर्किंदै गरेका यात्रुले खचाखच भरिएको बस सिन्धुपाल्चोक–काठमाडौंँ सीमा जरसिंहपौवाको ओरालोमा भारी लोडका कारण चिप्लिएर पल्टिँदा यतिको क्षति भएको प्रहरीको अनुसन्धानले देखाएको हो । सो दुर्घटना भएको २४ घण्टा नबित्दै महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको महाकाली यातायातको ना. ७ ख ६१८१ नम्बरको बस डोटीको शिखर नगरपालिका गेरुपानीमा शनिबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु ३४ जना घाइते भएका छन् ।

मानवीय क्षति हुने गरी भएका यी दुई बस दुर्घटनाको रगत सुक्न नपाउँदै आइतबार पुनः सिन्धुपाल्चोकको सुकुटेमा भएको भयानक दुर्घटना पनि क्षमताभन्दा बढी यात्रुको भार थेग्न नसकेर नदीमा पल्टिएको अनुमान गरिएको छ । करिब ३८ सिट क्षमता भएको बसमा ७० जनाभन्दा बढी यात्रु सवार थिए । चाडबाडको बेला हुने यस्ता दुर्घटना नियन्त्रण गर्न सम्बन्धित निकाय असफल भएका छन् ।

तर, उल्लिखित दुर्घटनाले सम्बन्धित निकायको त्यो अभियानलाई निरर्थक बनाइदिएको छ । बस दुर्घटनामा ट्राफिक प्रहरी र चालक दुवैको कमजोरी देखिन्छ । ट्राफिक नियम पालना गर्ने गराउनेको कमजोरीले दुर्घटना भएको दाबी प्रहरीको छ । नेपाल प्रहरी, सडक विभाग, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, गोँगबु नयाँ बसपार्क र काठमाडौँ महानगरपालिकालगायतका निकायले यसपटकको चाडपर्वलाई सुरक्षित र दुर्घटनारहित बनाउन उत्कृष्ट चालकलाई सम्मान र बसपार्कहरूमा ट्राफिक सचेतना अभियान सञ्चालन गरेको थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेल दुर्घटनाका विभिन्न कारणमध्ये चालक र यात्रुको लापरबाही मुख्य देखिएको बताउछन् । चालकलाई पैसा कमाउनुपर्ने, यात्रुलाई गन्तव्य नपुगी नहुने भएकाले ‘ओभरलोड’का कारण पनि बस दुर्घटना हुने गरेको उनले स्पष्ट पारे ।

चाडबाडको बेला ट्राफिक नियम पालना नहुँदा दुर्घटना बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालको भनाइ छ । “चालक मात्र के, कतिपय सचेत नागरिक पनि सवारी नियमको वास्ता गर्दैनन”, उनले थप्नुभयो, “सवारी साधनको अवस्थादेखि चालकको लापरबाही र यात्रु सचेत नभइदिँदा यस्ता दुर्घटना हुने गरेका हुन् । ” याे समाचार अाजकाे गाेरखापत्र दैनिकले छापेकाे छ ।

प्रतिक्रिया