बिहीबार, वैशाख ६, २०८१

ताङग्यामा मोबाइल सेवा विस्तार

नेपालखोज २०७६ कार्तिक २५ गते १३:१५

२५ कार्तिक, मुस्ताङ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मुस्ताङका लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ ताङग्या गाउँमा मोबाइल फोन सेवा विस्तार गरिएको छ ।

नेपाल टेलिकमले ताङग्यामा बिटिएस टावर स्थापना गरेर सो सेवा विस्तार गरेको हो । पैँतिस घरधुरीको बसोबास रहेको त्यस गाउँमा आइतबारदेखि मोबाइल फोन सेवा शुरु भएको नेपाल टेलिकम जोमसोम शाखाका कर्मचारी महेन्द्र गुरुङले बताए ।

विद्युत् सुविधा नभएकाले सौर्य ऊर्जा जडान गरेर टावरमा विद्युत् आपूर्ति गराइएको छ । यसअघि यहाँका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित थिए । अहिले उनीहरूलाई फोन गर्न अग्ला डाँडा र टावरले टिप्ने छिमेकी गाउँ पुग्नुपर्ने बाध्यता हटेको छ । उक्त गाउँपालिकाका अध्यक्ष राजु विष्टले उक्त सेवा शुभारम्भ गर्दै ताङग्यामा यसै वर्षभित्र केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिने बताए । उक्त गाउँपालिकाको ध्ये र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको साङता गाउँमा अझै सञ्चार सुविधा पुगेको छैन । यसैवर्ष यी बस्तीमा मोबाइल सेवा विस्तार गरिने उक्त शखाले जनाएको छ ।

प्रतिक्रिया