पाँचथरमा सुन्तला उत्पादन वृद्धि
२२ पुस, पाँचथर । पाँचथरमा गत वर्षको तुलनामा यस वर्ष ३०० मेट्रिक टन बढी सुन्तला उत्पादन भएको छ । गत वर्ष सात हजार ३७५ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष सात हजार ६७५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिएकाछन् । यस वर्ष सुन्तला उत्पादन हुने क्षेत्रफल बढेको छ ।
गत आर्थिक वर्षमा ९३१ हेक्टरमा भएको सुन्तला चालु आर्थिक वर्षमा ९४४ हेक्टर क्षेत्रफलमा विस्तार भएको छ । गत आवमा उत्पादनशील क्षेत्रफल ६६९ हेक्टर रहेकोमा यस आवमा ६९१ रहेको छ । जिल्लाको दक्षिणी भेग कुम्मायक गाउँपालिका–४ रानीगाउँका कृषकले लगाएको सुन्तला यतिखेर बारीमा लटरम्मै फलेपछि बगानमै सुन्तलाको मोलमोलाई गरेर ब्यापारीले सुन्तला किन्ने गरेका छन् । यहाँको सुन्तला तराईको विभिन्न बजारमा पुग्छ ।
यहाँका कृषकले सुन्तलासहित बारीमा अदुवा, कोदो, मकैलगायतका बालीबाट पनि राम्रो आम्दानी गर्दै आएका छन् । सुक्खाग्रस्त क्षेत्र भए पनि पारिलो ठाउँमा राम्रो उत्पादन हुने सुन्तला बिक्री गरेर रानीगाउँ साविक वडा नम्बर ६ र ८ का स्थानीयले आयआर्जन गरेका छन् । स्थानीय कृषकले वार्षिक प्रतिपरिवार रु दुई लाखदेखि चार लाखसम्म आम्दानी गर्दै आएका छन् । सुन्तला बिक्री गरेरै अहिले जीविकोपार्जन, घर खर्च चलाएका छन् भने छोराछोरी सुन्तला बिक्रीकै आम्दानीले पढाएका छन् ।
प्रतिक्रिया