शनिबार, वैशाख १५, २०८१

गुण र दोष नभएको केही पनि छैन, हामी अहिले पनि सुधारको क्रममा नै छौँ : शिवशंकर न्यौपाने

नेपालखोज २०७६ माघ १४ गते १७:३७

यतिवेला शैक्षिक क्षेत्रमा भईरहेको चर्चा मध्ये एक हो, त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन । त्रि.वि.ले आफ्नो शैक्षिक क्यालेण्डरमा फाल्गुण १४ मा स्ववियु निर्वाचन राखेसँगै त्रि.वि. अन्तर्गतका क्याम्पसहरुमा अचेल चहलपहल बढ्न थालेको छ । देशको सबैभन्दा ठुलो मानविकी क्याम्पसको रुपमा रत्न राज्यलक्ष्मी (आर.आर.) क्याम्पसमा पनि यो विषयले राम्रै स्थान पाएको छ । यसै सन्दर्भमा (आर.आर.) क्याम्पसमा अनेरास्ववियुका तर्फबाट स्ववियु अध्यक्षका प्रत्यासी शिवशंकर न्यौपानेसँग नेपाल खोजले गरेको कुराकानीको संक्षेप:

अहिले तपाई आर आरको स्ववियु अध्यक्ष बन्ने दौडमा हुुनुहुन्छ, विद्यार्थी र संगठनले तपाईंलाई किन विश्वास गर्ने ?

पहिलो कुरा त म विगत सात बर्ष देखि आर आर क्याम्पसमा संगठन भित्र रहेर विद्यार्थीहरुको सेवामा अनवरत लागिरहेको छु, नयाँ आउने विद्यार्थीहरुको भर्नाको समस्या, फाराम भर्दा आईपर्ने समस्या, पढिरहेका विद्यार्थीहरुको कक्षाकोठाको समस्या, शिक्षकसँग सम्बन्धित समस्या या प्रशासनसँग सम्बन्धित अप्ठ्याराहरुमा आफै उपस्थित भएर विभिन्न खाले सहयोगहरु गरिरहेको छु । यसअर्थमा म संगठनका लागि पनि नयाँ हैन, यस अघि पनि संगठन र विद्यार्थीहरुको विश्वासले गर्दा म स्ववियु सदस्य हुँदै सहसचिवसम्म आईपुगेको छु, यहि कुराले निरन्तरता पाउनेछ भन्नेमा म ढुक्क छु ।

(आर.आर.) क्याम्पसमा शैक्षिक प्रणालीमा केही समस्याहरु छन् भन्ने बेला बेलामा चर्चा हुन्छ, यसलाई कसरी समाधान गर्नुहुन्छ ?

हुन त गुण र दोष नभएको केही पनि छैन, हामी अहिले पनि सुधारको क्रममा नै छौँ । यति हुँदा पनि शैक्षिक प्रणाली अझ विशेषगरी सेमेस्टर प्रणालीमा विभिन्न समस्याहरु अझै पनि छन्, शुल्क सेमेस्टरको बराबर लिने र प्रणाली फितलो भईरहेको छ । सेमेस्टर प्रणालीका केही आफ्नै शर्तहरु हुन्छन् यी कुराहरुलाई कडाईका साथ लागु गर्ने हो भने यसलाई सुधार्न सकिन्छ । क्रमिक रुपमा यो सुधार हुँदै पनि आएको छ ।

शैक्षिक सँस्थाहरुबाट व्यवहारिक ज्ञान भन्दा पनि धेरै सैद्धान्तिक ज्ञानमात्र दिईन्छ, तपाईको क्याम्पसमा पनि यस्तो भईरहेकै होला ? यसको समाधान के हुन सक्छ ?

व्यवहारिक ज्ञानलाई बढवा दिनका लागि हाम्रो स्ववियुले विभिन्न समयमा विभिन्न खाले रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ । आर। आर। पढ्न आउने विद्यार्थीले शैक्षिक प्रमाण पत्र मात्र पाउँदैनन्, यसका अतिरिक्त उनीहरुले अन्य रचनात्मक कृयाकलापमा सहभागी भएर उत्कृष्ट भएका प्रमाणपत्रहरु पनि प्राप्त गर्छन् । हुन त आर आर क्याम्पस मानविकी संकायको क्याम्पस हो, यहाँबाट अरु क्याम्पसमा जस्तो धेरै प्राविधिक जनशक्ति उत्पादन नहोलान् यति हुँदा हुँदै पनि हाम्रो क्याम्पसमा आउने विद्यार्थीहरुले बि.सि.ए. बि.ए.एस. डब्ल्यू या पत्रकारिता जस्ता विषयहरु पनि प्रयोगात्मक हिसाबले पढ्न पाईरहेका छन् । जहाँ व्यवहारिक ज्ञान विद्यार्थीहरुले प्राप्त गरिरहेका छन् । यस अर्थमा केही कमजोरी हरु त होलान तर अरु क्याम्पसको तुलनामा आर आर क्याम्पसमा व्यवहारिक ज्ञान विद्यार्थीहरुले पाईरहेका छन् ।

विद्यार्थी राजनीतिको मुद्दा कहिँ न कहिँ चुकेको छ, आर आर क्याम्पसको स्ववियुमा संगठन र विद्यार्थीको विश्वास प्राप्त गरेर तपाईंले नेतृत्व गर्ने जिम्मेवारी पाउनुभयो भने तपाईंले आफ्ना चुनौती र अवशरहरुलाई कसरी उपयोग गर्नुहुन्छ ?

वास्तवमै विद्यार्थी संगठनहरु या भनौँ समग्र विद्यार्थी राजनिती मै केही समस्याहरु छन्, विद्यार्थी आन्दोलनका एजेण्डाहरुको कुरा गर्ने हो भने या विद्यार्थी राजनितीको प्रकृतीको कुरा गर्ने हो भने पनि केही समस्याहरु त्यहाँ भित्र छन् नै । संगठन र विद्यार्थीहरुको विश्वास प्राप्त गरेर म आर आरको स्ववियु अध्यक्ष भएँ भने मैले सिंगो नेपाली राजनितीमा आर आरको महत्वलाई उचो पार्नेगरी केही कामहरु गर्ने बचनबद्धता गर्दछु । आर आर क्याम्पस भित्र बैचारिक राजनितीलाई स्थान दिन समय समयमा विद्यार्थीका मात्र नभई अन्य पाटाहरुका समेत समस्या र यसलाई समाधान गर्ने उपायहरुमा केन्द्रित रहेर विभिन्न बहस या छलफलका कार्यक्रमहरु गरेर विद्यार्थी राजनितीको नेतृत्व तहलाई समेत सुझाव दिने काम हामीले गर्छौँ । र अन्य क्याम्पसहरुमा समेत सकारात्मक सन्देश प्रवाह गर्छौँ । जहाँसम्म चुनौतीहरुको कुरा छ, स्वभावैले म चुनौतीहरुको विचमा काम गर्न रुचाउने मान्छे भएकोले पनि यसलाई म अवशरको रुपमा लिनेछु ।

राजनीति प्रतिको तपाईको प्रष्ट दृष्टिकोण के छ ?

राजनीति भनेको विशुद्ध सेवा हो । राजनितीमा सरोकार राख्ने हरेकले आफू भएकै ठाउँमा सेवा गर्नुपर्छ । लाभका लागि अन्य धेरै ठाउँहरु छन्, राजनिती लाभका लागि गर्ने हैन । अहिलेको सन्दर्भमा केही सिमीत मान्छेहरुले लाभका लागि पनि राजनिती गरिरहेका छन् जसले गर्दा सिंगै राजनिती विकृत हुँदै गएको छ । यसले सेवाभावले राजनिती गर्नेहरुमाथी पनि प्रश्न चिह्न खडा भएको छ ।

क्याम्पसभित्र छात्रवृत्ति वितरण लगायत अरु केही विषयहरुमा विद्यार्थी संगठनहरुले हस्तक्षेप गर्छन भन्ने सुनिन्छ । यो विषयमा तपाईंको भनाई के छ ?

छात्रवृत्तिका आफ्नै मापदण्डहरु छन्, लागेजति सबै आरोप सहि हुदैनन्, हाम्रो संगठनले छात्रवृत्ति या यस्ता अरु कुनै विषयमा कहिल्यै हस्तक्षेप गर्दैन । त्रिविले केही परिमाणमा छात्रवृत्तिको व्यवस्था गरेको छ, स्ववियु सहितको सहकार्यमा क्याम्पस प्रशासनले विद्यार्थीहरुलाई उनीहरुको अन्तरवार्ता लिएर गरिबी, क्षमता, लगाव लगायत केही कुराहरुको मापन गरेर स्तर निर्धारण गर्छ र छात्रवृत्ति प्रदान गर्छ । यो प्रक्रिया अत्यन्तै पारदर्शी छ ।

हाल तपाईं आर आरको स्ववियु सहसचिव पनि हुनुहुन्छ, तपाईं भएको स्ववियुको अहिलेको टिमले गरेका महत्वपूर्ण काम के के हुन ?

कमरेड तपेन्द्र बहादुर शाहीको नेतृत्वमा हामी २०७३ सालमा निर्वाचित भईरहदा हाम्रा सामु थुप्रै चुनौतीहरु थिए । पहिलो कुरा त आर आर क्याम्पस नेपाली राजनिती, नेपाली पत्रकारिता, नेपाली कलकारिता, नेपाली गित/संगीत लगायतका क्षेत्रमा आफ्नो महत्वपूर्ण स्थान सहित रहिरहेको अवस्थामा यसको साख धान्नु पनि हाम्रा लागी एउटा चुनौती थियो । विगतका दिनमा जस्तो नेतृत्व विकास गर्न या पत्रकार, कलाकार, गायक, खेलाडी या अर्को कुनै सम्मानित पेशाका लागी योग्य व्यक्तित्व तयार गर्न हामी चुक्छौँ कि भन्ने चिन्ता हामीलाई जहिल्यै हुन्थ्यो । हामी यसमा चुकेनौँ, अझ भनौँ सफल भयौँ । मानविकी मात्र पढाई हुने क्याम्पसमा विद्यार्थीहरु आईरहँदा उनीहरुको व्यक्तित्व विकास त हामी गर्न सक्थ्यौँ तर जीवनयापन सहज बनाउनका लागी केवल विचारले मात्र हुँदैन सिप पनि उत्तिकै महत्वपूर्ण छ, यस्तो अवस्थामा हामीले सस्तो मूल्यमा प्राविधिक विषयहरु ल्यायौँ जहाँ अहिले इन्ट्रान्सका लागी मात्र पनि ठुलो प्रतिस्पर्धा हुन्छ, यसरी कमजोर विद्यार्थीहरुले मात्र मानविकी संकाय पढ्ने हो भन्ने आम मानसिकतालाई हामीले बदलिदियौँ । विद्यार्थीहरुलाई रचनात्मक बनाउनका लागी उनीहरु र अग्रजहरुको रचना÷विचार समेटेर मुखपत्र प्रकाशन गर्यौँ र प्राय सबैजसो बिधा समेटेर रचनात्मक सप्ताहहरु गर्यौँ । विद्यार्थीहरुको संख्यामा लगभग दोब्बर बृद्धि भएको छ । यो शिलशिलामा हामीलाई केही भौतिक संरचना र अन्य विविध सामग्रीहरुको आवश्यकता हुँदै गयो र ती आवश्यकताहरु काम गरेरै पुरा गर्दै गयौँ । सबै कुरा यहाँ भन्ने हो भने धेरै लामो हुन्छ, तर अहिले पनि देशभरका नमुना स्ववियुको रुपमा आर आर को स्ववियु छ ।

तपाईंले दुई किसिमका संघर्ष गरिरहनुपरेको छ, शुरुमा आफ्नै संगठन भित्र पनि एक किसिमको संघर्ष गर्नुपर्छ यस्तै टिकट पाईसकेपछि अरु संगठनसँगको संघर्ष पनि गर्नुपर्ने छ । निर्वाचनमा अर्को संगठनसँगको संघर्ष तपाईंका लागि सहज नै छ, यसलाई कसरी लिनुहुन्छ ?

संगठनभित्रको आन्तरिक संघर्षलाई हामीले गलत रुपमा मात्र लिनुहुँदैन । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । आन्तरिक संघर्षले हामीलाई अझ सक्षम बनाउन भूमिका खेल्छ । यो कुरालाई म जहिल्यै स्वागत गर्छु । अरु संगठनहरुसँगको संघर्ष सहज त छ तर म यसलाई सहजरुपमा मात्र लिन तयार छैन, यो मेरो परीक्षा पनि हो । विपक्षीलाई कमजोर सोच्ने भुल हामीले गर्नुहुँदैन । हामी अझै आफूलाई मजबुत बनाउन लागिपरिरहेका छौँ ।

अन्त्यमा, के लाग्छ, तपाईंले यसपटक स्ववियु अध्यक्षको टिकट पाउनुहुन्छ त ?

संगठनमा रहेर मैले निर्वाह गरेको भूमिका र विद्यार्थीहरुले म प्रति गरेको विश्वासको कारण नै मैले स्ववियु अध्यक्षका लागि आफ्नो दावी गरेको हुँ । मैले जहिल्यै आफूलाई राजनितीमा लामो रेसको घोडाको रुपमा प्रस्तुत गरिरहेको छु । यसकारण केही गरी मैले यो अवसर पाईंन भने पनि संगठनप्रति जहिल्यै बफादार रहनेछु ।

प्रतिक्रिया