शुक्रबार, वैशाख १४, २०८१

महाशिवरात्रिको सान्दर्भिकता

नेपालखोज २०७६ फागुन ८ गते २१:४५

उस लोकको कुनै ठाउँमा एउटा शिकारी बस्थ्यो । ऊ गरिब थियो । शिकार खेलेर ल्याउन नपाएको दिन बालबच्चा भोकै हुन्थे ।

एक दिन ऊ दिनभरि भौतारियो, शिकार भेटेन । साँझमा एउटा पोखरीमा पुग्यो । त्यसको डिलमा बेलको अग्लो रूख थियो । त्यसमाथि चढेपछि पशुपन्छी सजिलै देखिने उसले आँकलन गर्यो । भाग्यवश उक्त बेलको फेदमा शिवलिङ्ग स्थापना गरियो थियो । र, अर्को भाग्य–त्यो दिन महाशिवरात्रि थियो ।

झरेका र चढाएका बेलका पातले ढाकेका कारण उसले त्यहाँ शिवलिङ्ग देखेन । ऊ जति माथि चढ्दै गयो, कमला बेलका हाँगा भाँचिँदै शिवलिङ्गमाथि पर्दै गए । त्यो उसलाई ज्ञात थिएन । ऊ त शिकारको पर्खाइमा थियो । नजानी–नजानी उसकै कारण शिवलिङ्गमा बेलका पात चढाइएका थिए ।

रात केही छिप्पिएपछि पोखरीको डिलमा एउटी मृगिणी घुम्दै आई । ऊ गर्भिणी थिई । शिकारीले मौका यही हो भनेर धनुषकाण तयार पार्यो । मृगिणीले आग्रह गरी, ‘मलाई त मारेर खाऊ । गर्भको बच्चाप्रति कम्तिमा दया देखाऊ । म पहिला उसलाई जन्माउँछु अनि तिमीकहाँ आउँछु । त्यसपछि खाउला ।’

शिवलिङ्गमा चढाएको बेलपत्रको प्रभावले उसमा क्रमशः दया पलाउँदै गएको थियो । उसले त्यस मृगिणीलाई छाडिदियो ।

फेरि अर्की मृगिणी आई । उसलाई वाण हान्न शिकारी तयार भयो । मृगिणीले तत्काल बिन्ती गरी, ‘हे शिकारी, म भर्खर मासिक चक्र पार गरेकी छु । मेरो मनमा काम वासना उत्कट छ । म मेरो पतिलाई भेट्न चाहन्छु र मनको इच्छा तृप्त पार्न चाहन्छु । त्यतिन्जेल कृपया मलाई जीवन दान देऊ । पतिसँग सम्भोगपछि म तिम्रोसामु उपस्थित हुनेछु । त्यसपछि मार मलाई ।’

उसलाई पनि छाडिदियो ।

फेरि बच्चाको हाँचसहित अर्की मृगिणी आई । ऊतिर शिकारीले वाण तेर्सायो । उसले पनि तत्काल आग्रह गरी, ‘हेर मेरा लालाबाला । म यी सबैलाई तिनका बाउसामु बुझाएर आउँछु । तिमी कुरेर बस । म पक्कै आउनेछु ।’

उसलाई पनि शिकारीले छाडिदियो ।

बिहान उज्यालो हुने बेला खाइलाग्दो मृग आयो । उसलाई भने शिकार गरेरै छाड्ने अठोट गर्यो शिकारीले । मृगले भन्यो, ‘पहिला ३ वटा मृगिणीलाई तिमीले छोड्यौ । ती तीनवटै मेरा पत्नी हुन् । मलाई मार्यौ भने उनीहरूको इच्छा पूरा हुँदैन । उनीहरू तिमीलाई भेट्न आउँदैनन् । एउटा शिकारका लागि ३ वटा किन गुमाउँछौ ?’

‘अब मलाई उल्लु नबनाओ । घरमा मेरा श्रीमती र बालबच्चा भोकै छन् । मलाई कुरिरहेका छन् । म तिम्रै शिकार गर्न चाहन्छु’, शिकारीले भन्यो, ‘कुनै बहानाले रोक्दैन अब मलाई ।’

‘मेरा पनि श्रीमती र बालबच्चा भोकै छन् । मलाई नै कुरिरहेका छन्’, मृगले भन्यो, ‘मलाई मार । मेरो परिवारको बिचल्ली पार र तिम्रो परिवारको पेट भर ।’

शिकारीको मन फर्कियो । बुद्धिको बिर्को खुल्यो ।

महाशिवरात्रिमा शिवलिङ्गमा बेलपत्र चढाएको प्रताप थियो यो । शिवजीले विभिन्न भेषमा आएर उसलाई शिक्षा दिनुभएको थियो ।

अन्त्यमा दर्शन दिएर भन्नुभयो, ‘घर फर्क । बाटामा टन्न कन्दमुल पाउनेछौ । परिवारलाई खुवाउनू । तिमीलाई अब कहिल्यै दुःख हुनेछैन ।’

भगवान् शिव संरक्षणकर्ता र संहारकर्ता दुवै हुनुहुन्थ्यो । श्रीस्वस्थानी, विष्णुपुराणजस्ता पवित्र धार्मिक ग्रन्थमा वर्णन भएअनुसार शिवको महिमा अपरम्पार छ । हजार जिब्रो भएका शेषनागले त उहाँको वर्णन गर्न सक्दैन थिए, अरूले कसरी सकुन् ।

बाटो बिराएकाहरूलाई उहाँले बाटो देखाइदिनुहुन्थ्यो ।

भगवान् शिवको उपस्थिति र महाशिवरात्रिको सान्दर्भिकता हाम्रो देशमा वर्तमानमा झन् बढी छ । देशमा यस्तै शिकारीहरू यत्रतत्र छन् । खासगरी राजनीतिक क्षेत्रमा । जुन आवरणमा आए पनि शिकारै खेल्न रत्तिने । त्यही भएर निर्धा निमुखा सधैं शिकार हुँदै आएका छन् । यो शिवरात्रिमा भगवान् शिवको कृपा तिनीहरूमाथि परे पक्कै पनि उनीहरू ‘कन्दमुल’ मा रमाउने थिए । देशले समृद्धिको बाटो समाउने थियो ।

महाशिवरात्रिका सन्दर्भमा सबैलाई सत्कर्म र सत्बुद्विकाे शुभकामना । ओम नमः शिवाय !

प्रतिक्रिया