बिहीबार, वैशाख १३, २०८१

७ महिनामा व्यापार घाटा ५.३३ प्रतिशतले घट्यो

नेपालखोज २०७६ फागुन १३ गते १४:०३

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ७ महिनासम्म नेपालको व्यापार सुधारतर्फ गएको पाइएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा नेपालको व्यापार घाटा ७ खर्ब ३८ करोड ६३ लाख रुपैयाँ रहेको छ । जस अनुसार सात महिनामा नेपालको व्यापार घाटा ५.३३ प्रतिशतले घटेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि माघ समान्तसम्म विदेशबाट वस्तु आयात ३.५६ प्रतिशतले घटेको छ । सात महिनामा ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्ष को सोही अवधिमा ८ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

आर्थिक वर्षको सुरुदेखि नै बढेको निर्यात माघ महिनासम्म पनि बढिरहेको थियो । सात महिनामा निर्यात २२.४१ प्रतिशतले बढेको छ । सात महिनाको अवधिमा नेपालले गत वर्षको सोही अवधिको तुलनामा झन्डै १२ अर्ब बढीको वस्तु निर्यात गरेको छ ।

यस्तै, सरकारले विद्युतीय सवारीको आयातलाई प्राथमिकता दिने नीति अवलम्बन गरेसँगै यसको आयात बढेको छ । चालू आर्थिक वर्षको ७ महिनामा विभिन्न मुलुकबाट १५ सयभन्दा बढी विद्युतीय सवारी आयात भएको भन्सार तथ्यांकमा छ । अधिकांश सवारी आयातकर्ताहरुले आफ्नो माउ कम्पनीले उत्पादन गरेका विद्युतीय सवारी ल्याउने अधिकतम् प्रयास गरेकाले पनि आयात बढेको हो । विद्युतीय सवारीमा तुलनात्मक रुपमा कर निक्कै कम भएकाले सस्तोमा उपलब्ध हुँदै आएको छ । भन्सारको तथ्यांकअनुसार नेपालमा चीन, फ्रान्स, बेलायत, भारत, दक्षिण कोरियालगायत मुलुकबाट विद्युतीय सवारी आयात हुँदै आएको छ ।

प्रतिक्रिया