बिहीबार, वैशाख १३, २०८१

रगत सङ्कलन केन्द्र अभावले बिरामीको ज्यान जोखिममा

नेपालखोज २०७६ फागुन १३ गते १७:२१

बागलुङ । प्राथमिक स्वास्थ्य चौकी बुर्तिवाङमा रक्त सङ्कलन केन्द्र नहुँदा बिरामी मर्कामा पर्ने गरेका छन् । प्राथमिक उपचार सेवाका साथै सामान्य शल्यक्रियासमेत हुने स्वास्थ्य चौकीमा अहिलेसम्म रक्त सङ्कलन केन्द्र स्थापना हुन सकेको छैन । रक्त सङ्कलन केन्द्र नभएका कारण रगतको आवश्यकता भएका बिरामीलाई ९१ किलोमिटर दूरीमा रहेको जिल्ला सदरमुकाम बागलुङ धाउनुपर्ने बाध्यात्मक रहेको छ । यहाँ शल्यक्रियामार्फत सुत्केरी हुनेलाई पनि सेवा दिने व्यवस्था छ तर शल्यक्रियापछि आवश्यक पर्ने रगतको मागलाई पूरा गर्न बिरामी वा उनका आफन्तले युवालाई खोज्नुपर्छ । यहाँ रक्त सङ्कलन केन्द्र नभएकाले तत्काल रगत दिनुपर्ने भएमा रक्त समूह मिल्ने व्यक्ति राखेरमात्र शल्यक्रिया गर्नुपर्ने बाध्यता भएको स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक बताउँछन् ।

जनसङ्ख्या धेरै भएको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका जनताको एउटै केन्द्र भएकाले दैनिक डेढ सयजनासम्म बिरामी उक्त स्वास्थ्य चौकीमा सेवा लिनका लागि आउने गर्छन् तर यहाँ आवश्यक दरबन्दीका स्वास्थ्यकर्मी र रक्त सञ्चार भने अभाव रहेको छ । यो केन्द्रमा एम्बुलेन्स पनि अभाव छ । चाहियो भने ग्वालिचौर र भीमगिठेबाट मगाउनु परेको अस्पतालका प्रमुख डा मिलन मल्ल बताउँछन् ।

एम्बुलेन्स नपाएर बिरामीले ट्याक्सी खोजेर पाल्पा कुद्ने समस्या खेप्ने गरेका छन् । जिल्ला सदरमुकामभन्दा मिशन अस्पताल पाल्पा दूरीका हिसाबले नजीक पर्ने भएकाले रिफर भएर जानुपर्ने बिरामी पाल्पा जाने गरेका छन् । अहिले पनि यहाँ तीनजना चिकित्सक कार्यरत छन् तर उपकरण, एम्बुलेन्स र नर्सिङ तथा अन्य सहायक तहका स्वास्थ्यकर्मी अभावले दैनिक उपचारमा समस्या पर्ने गरेको डा मल्लले बताए ।

जिल्ला अस्पताल झैँ चौबिसै घण्टा इमरजेन्सी सेवा, ओपिडी, बहिरङ्ग, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, ल्याब लगायतका सेवा पाइने भनेर केन्द्रमा सूचना टाँगिएको छ । “उपचारमात्र दिएर पुग्दैन, त्यसपछिका जटिलता सम्बोधन गर्ने चुनौती छ”, उनले भने, “उपचारको सेवा दिने काम प्रशासनले दिएजस्तो होइन ।” विभागीय रुपमा दरबन्दी पूरा नदिने र एम्बुलेन्स अभाव बढी चुनौती भएको उनले बताए । यहाँ केन्द्र व्यवस्थापन समितिबाट पाँचजना स्वास्थ्यकर्मी करारमा राखिएको छ । तीमध्ये डा विवेक यादव एनेस्थेसिया छन् । उनको दरबन्दीमै व्यवस्था गर्न सकेमा नियमित शल्यक्रिया सेवा दिन सकिने डा. मल्लको भनाइ छ । कार्यालय सहायक र प्रशासनको कर्मचारी पनि यहाँ अभाव छ ।

ढोरपाटन नगरपालिकाले यो केन्द्रलाई अस्पतालका रुपमा विकास गर्ने योजना बनाएको छ । नगरपालिकाले चाहेमा कम्तीमा १५ श्ययाको अस्पताल बनाउन सकिने प्रावधान छ । अस्पताल बनाउने विषयमा बेलाबेला बहस उठ्दै गरेको छ । तर फेरि बिस्तारै सेलाउने गरेको स्थानीयवासी जीतबहादुर भट्टचनले बताउँछन् ।

यहाँ मासिक १५ जनाले शल्यक्रियाबाट बच्चा जन्माउने गर्छन् । गत वर्ष यहाँ एक हजार ४०० भन्दा बढीले प्रसूति सेवा लिएको तथ्याङ्क छ । वर्षभरि आठ हजारभन्दा बढी अन्य बिरामीले यहाँबाट उपचार र स्वास्थ्य सेवा लिएका छन् ।

प्रतिक्रिया