शुक्रबार, वैशाख ७, २०८१

शेयर बजार : एकैदिन ८६ अंकको गिरावट

नेपालखोज २०७६ फागुन २७ गते १३:५२

काठमाडौँ । तीव्रगतिमा बढिरहेको शेयर बजारमा करेक्सन हुँदा मंगलबार पनि लगातार तेस्रो सर्किटसहित कारोबार बन्द भएको छ। गत सातामा पनि शेयर बजार अधिकतम घट्ने क्रममा कारोबार नै बन्द भएको थियो।

पहिलो एक घण्टाभित्र ४ प्रतिशतले नेगेटिभ सर्किट लाग्दा २० मिनेटका लागि कारोबार बन्द गरिएको थियो। पहिलो सर्किट लागेको तीस मिनेटमै ५ प्रतिशतको गिरावट भएपछि दोस्रो सर्किट लागेर कारोबार बन्द भयो।

दोस्रो सर्किट खुलेको केहि मिनेटमै ६ प्रतिशतले सर्किट लागेपछि आज दिनभरिका लागि कारोबार बन्द भएको छ।

दिउँसो १२ बजेर ३२ मिनेटमा नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि कारोबार ४० मिनेटका लागि रोकिएको थियो । १ बजेर ११ मिनेटमा फेरि सुरु भएको कारोबार दुई मिनेटमै परिसूचक ६ प्रतिशत घटेपछि मङ्गलबारका लागि सबै कारोबार स्थगित गरिएको हो ।

पहिलो सर्किट ब्रेक लागेको समय १२ बजेर ३२ मिनेटसम्ममा नेप्से परिसूचक ७२ दशमलव ०३ अङ्कले घटेर १३ सय ६३ दशमलव ६६ अङ्कमा झरेको थियो ।

त्यसपछि १ बजेर १३ मिनेटसम्ममा नेप्से परिसूचक ८६ दशमलव ३९ अङ्क अर्थात् ६ दशमलव ०२ प्रतिशतले घटेको छ । मङ्गलबार सबै समूहको उपसूचक घटेकाे छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ७६२ दशमलव ९२ अङ्कले घटेको छ । मङ्गलबार दिनभर एक अर्ब सात करोड रुपैयाँ बराबरका २७ लाख ३५ हजार कित्ता शेयर किनबच भएका छन् ।

नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै आठ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निको इन्स्याेरेन्स कम्पनी लिमिटेड र नेपाल लाइफ इन्स्याेरेन्स कम्पनीका शेयर लगानीकर्ताले आज १० प्रतिशत गुमाएका छन् ।

बजार घटेको दिन पनि मङ्गलबार एनआईबीएल समृद्धि फण्डका शेयर लगानीकर्ताले झण्डै ४ प्रतिशत कमाएका छन् ।

प्रतिक्रिया