सोमबार, जेठ ७, २०८१

बाँकेमा २१९ क्वारेन्टाइनमा

नेपालखोज २०७६ चैत १९ गते १४:०५

बाँके । बाँकेमा स्थानीय तहले स्थापना गरेका क्वारेन्टाइनमा २ सय १९ जनालाई राखिएको छ । जिल्लाका ८ वटै स्थानीय तहले स्थापना गरेका क्वारेन्टाइनमा मङ्गलवारसम्म २ सय १९ जनालाई राखेर आवश्यक निगरानी गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाहले जानकारी दिए।

उनका अनुसार, सबैभन्दा बढी नरैनापुर गाउँपालिकामा १ सय २३ जना, खजुरा गाउँपालिकामा ६४, जानकीमा १४, नेपालगञ्ज उपमहानगरपालिकामा १३, बैजनाथमा २, राप्तीसोनारीमा २, कोहलपुर नगरपालिकामा १ जनालाई क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै डुडुवा गाउँपालिकामा भने मङ्गलवारसम्म कसैलाई पनि राखिएको छैन । क्वारेन्टाइनमा बसेकामध्ये अहिलेसम्म नेपालगञ्जबाट ९ तथा खजुरा र जानकीबाट ४÷४ जना बहिरिएको स्वास्थ्य कार्यालय प्रमुख शाहले बताए ।

कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण रोक्न बाँकेका सबै स्थानीय तहले क्वारेन्टाइन स्थापना गरेका छन् । भारत लगायत तेश्रो मुलुकबाट आएका व्यक्तिको सङ्ख्या क्वारेन्टाइनमा थपिदै गएपनि आवश्यक सुरक्षाकर्मी नहुँदा सुरक्षा चुनौती बढ्दै गएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

खजुरा गाउँपालिकाले वडा नं. १ को राधापुर र वडा नं. ४ खजुर कृषि तालिम केन्द्रमा क्वारेन्टाइन सञ्चालन गरेको छ । राज्यले क्वारेन्टाइन स्थलमा तीन तहको सुरक्षा उपलव्ध गराउने भनेपनि खजुरामा नेपाल प्रहरी एकछिन आउने र गइहाल्ने गर्दा सुरक्षा चुनौती बढेको अध्यक्ष कक्षपतिको भनाइ छ ।

प्रतिक्रिया