सोमबार, जेठ ७, २०८१

पोखरीया अस्पतालमा आइसोलेशन कक्ष सञ्चालन

नेपालखोज २०७६ चैत २० गते १३:४०

पर्सा । पर्साको पोखरीया अस्पतालमा स्थापना गरिएको आइसोलेशन कक्ष सञ्चालनमा आएको छ । राष्ट्रिय जनता पार्टीका सह—महासचिव एवम् समाजसेवी निजामुद्दीन समानी र उद्योगी सत्यनारायण क्यालले आइसोलेशन कक्ष सञ्चालनका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराएपछि बुधवारदेखि सो कक्ष सञ्चालनमा आएको हो । उपलब्ध गराएको स्वास्थ्य सामग्रीमा कोरोना भाइरसका शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षणका लागि चिकित्सकले लगाउनुपर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) १० थान, सेनिटाइजर, मास्क, ग्लोव्स र ज्वरो नाप्ने थर्मल गन रहेका छन् । उक्त सामग्री अस्पतालका चिकित्सक अनिल यादवलाई हस्तान्तरण गरिएको थियो । आइसोलेशन कक्ष स्थापना भएपनि चिकित्सकले पिपीइको अभावमा कोरोना भाइरसका सम्भावित सङ्क्रमितलाई जाँच गर्न नसकिने बताएपछि सो कक्ष सञ्चालनमा आएको थिएन ।

सो अवसरमा महासचिव समानीले विभिन्न सहयोगीदाताको सहयोग लिएर कोरोना भाइरस सङ्क्रमितको चेकजाँचमा कुनै प्रकारको बाधा अवरोध नहोस् भन्ने उद्देश्यले आवश्यक सामग्री सहयोग गरेको बताए। कार्यक्रममा पोखरीया नगरपालिकाका प्रमुख दिपनारायण रौनियार र उपप्रमुख सलमा खातुनले कोरोना भाइरस ९कोभिड–१९० को रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक गृह कार्यमा जुटेको जानकारी दिए ।

पोखरीया नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि जिल्ला उच्चाङ्गल रामदेव कलवार उच्च माध्यमिक विद्यालय पोखरीयामा नौ शय्याको क्वारेन्टाइन र पोखरीया अस्पतालमा तीन शय्याको आइसोलेशन कक्ष स्थापना गरिएको थियो ।

प्रतिक्रिया