धेरै अड्कल बाजी नगरौँ भन्ने प्रचण्डले के कुरा गर्लान् ओलीसँग ?

नेपालखोज २०७७ वैशाख २५ गते १६:३२

टंककला तिमिल्सेना,
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । बुधबार बोलाइएको सचिवालय बैठकले स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न नसकेको भन्दै वैशाख २५ का लागि बोलाइएको बैठक स्थगित गरेको थियो । बैठक स्थगित भएसँगै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक गृहकार्य नपुगेकाले बैठक स्थगित गर्नु परेको प्रतिकृया दिए । उनले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग थप छलफल पश्चात स्थायी समितिको बैठक बोलाउने बताए । दाहालले यसबारे अन्यथा नसोच्न आग्रह पनि गरेका छन् ।

तर, उनले अन्यथा नसोच्न भनेपनि नेकपाभित्रको अहिलेको परिस्थिति भने अन्यथा सोच्न अनुचित नहुने खालकै छ ।

पछिल्ला केहि दिनमा नेकपाको आन्तरिक राजनीतिमा निकै उथलपुथल भैरहेको छ । शक्ति सन्तुलताकालागि आन्तरिक राजनीतिमा समय समयमा आँधी नै ल्याउने नेकपामा यस पटक पनि नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावसम्मका कुरा सतहमा आए । जसकारण नेकपाको अबको राजनीतिक अवस्था के हुन्छ ? र यसले सरकार सञ्चालनमा कस्तो प्रभाव पार्छ ? भन्नेबारे विभिन्न विश्लेषण भए ।

तर, ओली, दाहाल, माधवकुमार नेपाल र वामदेव गौतमबीचको छलफलले नयाँ मोड लिदैँ यस अघि तातिएको माहोल २,४ दिन यता केहि चिसो भएको छ । माहोल केही सेलायपनि दोस्रो दर्जाका नेताहरुले भने तत्काल स्थायी कमिटि बैठक बोलाउन जोडदार माग गर्दै आएका    छन् । सोहि माग बमोजिम स्थायी कमिटि बैठक बैशाख २५ मा बोलाइएको थियो तर अहिले त्यो पनि सरेको छ ।
स्थगित बैठक कहिले बस्छ भन्ने विषय अनिश्चित छ ।

यता, स्थायी कमिटि बैठककालागि अहिलेपनि नेताहरुको दवाव कायमै छ । धुम्बाराहीमा बिहीबार भेला भएका २० नेताले तत्काल स्थायी समिति बैठक बोलाउन माग गरे । ओली र प्रचण्डको शक्ति संग्रहको कुटनीतिमा उल्झिरहेको नेकपामा अब के हुन्छ ? के छलफल गर्लान् प्रचण्डले ओलीसँग ? समान्य रुपमा एक प्राथमिकतहको विन्दुमा कुरा मिलाएर थोरै अघि बढेका अध्यक्षहरुले अहिलेको विषम परिस्थितिमा के कसो गर्लान् त्यो प्रतिक्षाको विषय बनेको छ ।

प्रतिक्रिया