जनप्रतिनिधिद्वारा भोजपुरका ५२ पत्रकारको ‘कोराना बीमा’
भोजपुर । तीनजना जनप्रतिनिधिले भोजपुरका पत्रकारको कोरोना बीमा गराइदिएका छन् । कोरोनाको महामारीमा कार्यस्थलमा खटिने पत्रकारका लागि भोजपुर नगरपालिका उपप्रमुख ममिता राई, वडा नं ६ का वडाध्यक्ष शैलेन्द्र कार्की र वडा नं ९ का वडाध्यक्ष रामबहादुर तामाङले क्रियाशील ५२ जना पत्रकारको बीमा गराउन सोमबार आर्थिक सहयोग गरेका हुन् ।
उनीहरुले आफूले पाउँदै आएको सेवा सुविधा कटाएर पत्रकारको कोरोना बीमा गर्न आर्थिक सहयोग गरेका हुन् । समाजलाई ससूचित गराउन जोखिम मोलेर अग्रपङ्क्तिमा खटिने पत्रकारको सुरक्षालाई ध्यानमा राख्दै बीमा गराउन आर्थिक सहयोग प्रदान गरेको उपप्रमुख राईले बताए । उनले भने, “पत्रकारको सुरक्षालाई ध्यानमा राख्दै हामीले आफूले पाउँदै आएको सेवा सुविधालाई कटाएर बीमाका लागि रकम दिएका हौँ, यो महामारीको समयमा तपाईंहरुलाई यसले आफ्नो कर्तव्य पूरा गर्न थप हौसला मिल्छ भन्ने आशा गरेका छौँ ।’’
सहयोग गरिएको बीमावापतको रकम लिँदै नेपाल पत्रकार महासङ्घ भोजपुर शाखाका कार्यवाहक अध्यक्ष एक्सन राईले कार्यस्थलको जोखिमलाई ध्यानमा राख्दै पत्रकारको बीमा गराउन सहयोग गरेकाले पत्रकारलाई कार्यस्थलमा खटिन थप हौसला मिल्ने धारणा राखे। साथै उनले कार्यस्थलमा खट्दा पत्रकार आफैँ पनि सजग बन्नुपर्ने बताए ।
प्रतिक्रिया