बिहीबार, वैशाख १३, २०८१

किसानको परिवर्तन कहिले देखिएला ?

नेपालखोज २०७७ असार १४ गते ९:२१

सबैभन्दा दुखी र कसैले पनि नटर्ने व्यवसाय यदि कुनै छ भने त्यो कृषि पेशा हो भन्ने हिजोको परम्परागत सोचलाई अहिले पनि जस्ताको त्यस्तै बनाईरहेको पाईन्छ । हिजो राजतन्त्रदेखि हाल प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आईपुग्दा सवै क्षेत्र, पेशाको परिवर्तन देखियो तर कृषि र किसानको परिवर्तन देखिएन ।

हुन पनि प्रजातन्त्र प्राप्तिको तीन दशकलाई हेर्ने हो भने हिजो किसानहरुको नेतृत्व गरेका आएकाहरु पटक पटक पहुँच र सत्तामा पुगे तर तिनीहरुले किसानका लागि कहिँ केही पनि गर्न सकेनन् ।

हुन त किसानका हक अधिकार सुनिश्चितताको लागि भन्दै विभिन्न राजनीतिक दलहरुमा आस्था र विचार राख्ने व्यक्तिहरुले साझा संस्थाका रुपमा विभिन्न संस्थाहरु गठन गरी परिचालन गरेको पनि देखिन्छ । तर त्यस्ता सामाजिक संस्थाहरुले खासै किसानका पक्षमा काम गर्न सकेको देखिँदैन ।

किसानहरुलाई समस्या पर्दा समस्या समाधान गर्नका लागि खुलेका भनिएका त्यस्ता संस्थाहरु राजनीतिक दलको इशारामा चल्ने आरोप बेला बेलामा लाग्ने गरेको पनि छ । किसानको सामुहिक स्वार्थका लागि भन्दा आफू र आफ्नो राजनीतिक दलको स्वार्थका लागि मात्र त्यस्ता संस्थाहरुले काम गरिरहेको पनि देख्न सकिन्छ ।

विगत लामो समयलाई हेर्ने हो भने वास्तवमा नै किसानहरुको समस्या समाधान गर्ने किसिमले काम गरेको देखिँदेन । त्यसो हो भने किसानका नाममा खोलिएका त्यस्ता संस्थाहरु खारेजीको विकल्प अरु केही हुन सक्ला र ?

नाम किसानको काम राजनीतिक दलहरुको हुने हो भने किसानहरुको समस्या कहिले पनि समाधान हुन सक्दैन भन्ने कुरामा दुईमत नै छैन । त्यसैले सँधै अरुका लागि लड्ने किसानका नेता एवं संघसंगठनहरुले किसानहरुको समस्या समाधान गर्नका लागि कहिल्यै जुट्न सकेको देखिएन । अहिले पनि किसानहरु मलको अभाव खेपिरहेका छन् ।

किसानका लागि भनेर स्थापना गरिएको किसान आयोग निदाएर बसिरहेको छ । तिनै किसानको नाम भजाएर आयोगमा पुग्नेदेखि कृषिसँग सम्वन्धित विभिन्न निकायमा नियुक्ति खानेहरु पनि भेटिए । तर किसानहरुको मुहार परिवर्तन गर्ने किसिमले काम भने गरेको देखिएन । अहिलेको अवस्थाका कृषि चर्चा र वहश गरिरहँदा किसानहरको आमूल परिवर्तन भएको कहिले देख्न पाइएला त ?

प्रतिक्रिया