शुक्रबार, वैशाख १४, २०८१

स्वस्थ रहने १० उपाय

नेपालखोज २०७७ साउन ४ गते ५:००

१. घर बाहिरबाट घर आउनेवित्तिकै सावुन पानीले हात धुएर मात्र घरका अन्य सामान हरु छुनु पर्दछ । यदि घरमा सानो बच्चा छ भने त झनै यो गर्नु जरुरी हुन्छ ।

२. घर वरिपरी कतै पनि पानी जम्न दिनुहुँदैन । केही काम गरेर बाल्टीनमा पानी रहेको छ भने त्यो पानीलाई पनि फ्यालेर खाली राख्नु पर्दछ । बाथरुम, बेसिन आदिलाई दिनैपिच्छे फिनेल, डिटोल आदिले सफा गर्नुपर्दछ ।

३. यदि खानेकुरा उब्रिएको छ भने राम्रोसँग छोपेर राख्नुपर्दछ । फ्रिजमा राख्नुपर्ने सामान भए राम्रोसँग छोपेर मात्र राख्नुपर्दछ । प्रायः हामी फ्रिजमा खानेकुरा राख्दा नछोपि राख्छौं । त्यसो गर्नुहुँदैन । काँचो र पाकेको खानेकुरा पनि सँगै राख्नु हुँदैन । फ्रिजलाई सकेसम्म ३–३ दिनमा नभए प्रत्येक हप्ता सफा गर्नुपर्दछ । तरकारीहरु बजारबाट ल्याएर पखालेर मात्रै फ्रिजमा राख्नाले त्यहाँ भएका अरु खानेकुरामा बजारको किटाणु सर्ने सम्भावना कम हुन्छ ।

४. ताजा तरकारी तथा फलफूल मात्र प्रयोग गर्नुपर्दछ । बजारबाट मसला, खाद्यान्न खरिद गर्दा अनिवार्य रुपमा एक्सपायरी डेट हेरेर मात्र ल्याउनुपर्छ ।

५. धेरै तेल, मसला उपयोग गर्नुहुँदैन । सादा तथा खाद्यान्नको मुख्य स्वाद नजानेगरी मसलाको उपयोग गरेमा स्वस्थ्य खाना पाइन्छ । खानेकुरा धेरै समय पकाउँदा त्यसको पौष्टिक तत्व नष्ट भएर जाने हुनाले त्यसो नगरौं ।

६. खानामा सलाद, दही, दूध, दाल तथा अनिवार्य रुपमा हरियो सागसब्जीको प्रयोग गरौं । हरेक पटक खाद्यान्न प्रयोग गर्दा पखालेर मात्र प्रयोग गरौं ।

७. नून तथा चिनीको प्रयोग कम गरौं । जंकफूड लाई घरमा नल्याऔं । कलर हालेका खानेकुरा तथा टेष्टीङ पाउडरको प्रयोग नगरौं ।

८. बेलुका सकभर खाना नखाऔं । हलुका खाना मात्र खाने बानी बसाल्दा राम्रो हुन्छ । सकेसम्म १४ घन्टा पेटलाई पानी बाहेक अरु चिज नदिँदा राम्रो हुन्छ ।

९. सुत्ने ओछ्यान जहिले पनि सफा राखौं । तन्ना, सिरकको खोल सिरानी आदि सफा भयो भने हाम्रो श्वास प्रश्वास प्रणाली त राम्रो हुन्छ नै, शरीरको थकान पनि नष्ट भएर जान्छ ।

१०. अनिवार्य रुपमा दिनको १ घन्टा योग, व्यायाम तथा ध्यानलाई छुट्याऔं । योग ध्यान जति ठूलो औषधि यो ब्रम्हाण्डमै छैन । हामीलाई लागेका या लाग्नसक्ने रोगहरु सवै हाम्रै शरीरले निको पार्न सक्दछ । शरीरलाई मल्टिस्पेसियालिटी अस्पताल बनाउन योग ध्यान बाहेक अर्को कुनै उपाय छैन । त्यसैले दैनिक योग ध्यान गरौं, स्वस्थ बनौं ।

प्रतिक्रिया