मंगलबार, जेठ ८, २०८१

उपत्यकामा कोरोनाको उच्च जोखिम, पासबिनाका
सवारी नाकाबाटै फिर्ता

नेपालखोज २०७७ साउन २२ गते १९:२६

काठमाडौं । नेपालमा लकडाउन खुला भएसँगै कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । गत चैत्र ११ गते मुलुकमा लकडाउनको घोषणा भएसँगै उपत्यकामा बसोबास गर्ने नागरिक गाउँ फर्किएका थिए ।

तर, लामो समयसम्मको लकडाउनले नागरिकलाई सास्ती भएको भन्दै सरकारले साउन ६ गते राति १२ बजेदेखि लकडाउन खुला भएको घोषणा गरेसँगै गाउँ गएका नागरिक उपत्यका फर्किन थालेका छन् । जसले गर्दा काठमाडौंमा कोरोना संक्रमणको जोखिम बढेर गएको छ ।

विभिन्न कोरोना संक्रमित जिल्लाबाट फर्किएका नागरिक उपत्यका फर्किदा राजधानी काठमाडौंमा कोरोनाको जोखिम बढेको भन्दै सरकारले उपत्यका प्रवेश गर्ने सबैजसो नाकामा कडाइ गर्न दिएको आदेश बमोजिम हाल उपत्यका भित्रिने सबैजसो नाकामा थप कडाइ गरिएको छ ।
हाल साँगा नाकाबाट पासबिना आउने सवारी साधन र मानिसलाई पनि हिँड्डुलमा पूर्णत रोक लगाइएको छ भने दुई जिल्लाको समन्वय बैठक बसेर विषेशगरी जिल्लाको सिमा नाकामा नै कडाइ गर्ने विषयमा कुरा उठाइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।
हाल उपत्यका प्रवेश गर्दा पास नभएका सवारी साधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाइरहेको छ ।

विभिन्न नाका हुँदै काठमाण्डौ प्रवेश गर्नेको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाब संकलन गरेको सरकारले अहिले भने सवारी पास जाँचमा पनि कडाइ गर्न थालेको छ । गृह मन्त्रालयले ३ हजार जनाको परीक्षणको रुपमा स्वाब संकलन गर्न भनेको थियो । त्यसअनुसार बाहिरी जिल्लाबाट आएका मानिसको स्वाब संकलन गरी परीक्षण गर्दा केहीमा संक्रमण पुष्टि भएको र हाल साँगा नाकाबाट बिना मास्क हिँड्ने दैनिक करिब २ सय जनालाई कारवाही गर्न थालिएको प्रमुख जिल्ल अधिकारी पाण्डेले बताइन् ।

यसअघि नाकासम्म एउटा सवारी सधानमा आएर पैदल हुँदै उपत्यका प्रवेश गर्ने, उपत्यका प्रवेश गरेपछि अर्को गाडीमा आउने गरेका यात्रुलाई पनि पूर्णत रोक लगाइएको छ । हाल उपत्यका प्रवेश गर्ने साँगा, फर्पिङमा र विशेषगरी नागढुंगा नाकामा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनलाई पूर्णरुपमा निषेध गरिएको छ भने पास नभएका सवारीलाई पनि प्रवेश निषेध गरिएको र थप कडाइ गर्ने उद्देश्यले अत्यावश्यक बाहेकका आवागमनलाई कडाइ गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

यस्तै सरकारले २ सयभन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित भएका जिल्लाभित्र आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरेको छ । यस भन्दा पहिला जोरबिजोर प्रणाली लागू गरिएको नीतिअनुसार नै हाल हरेक ठाउँमा चेक प्वाइन्टहरु राखिएका छन् । हिजो अबेर निर्णय आएकाले कतिपय नागरिकलाई यसबारे जानकारी नभएको हुनसक्ने भन्दै ट्राफिक प्रहरीले यसबारे माइकिङ तथा ट्राफिक एफएमबाट पनि जानकारी गराइरहेको र अहिले जोरबिजोर प्रणालीको नियम कसैले उल्लंघन गरे कारवाही स्वरुप दिनभरी गाडी होल्ड गर्ने, गरेको महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता बामदेव गौतमले बताएका छन् ।

आजदेखि जोरबिजोर प्रणाली लागु भएसँगै उपत्यकामा सवारी चाप केही घटेको देखिन्छ । निजी, सार्वजनिक र सरकारी सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका ४६ स्थानमा ट्राफिक प्रहरी र जनपद प्रहरीको संयुक्त टोलीलाई तैनाथ गराएको छ । जसमध्ये काठमाडौंमा २२ तथा भक्तपुर र ललितपुरमा १२÷१२ स्थानमा चेकिङ युनिट परिचालन गरिएको छ । महाशाखाले तीनवटै जिल्लामा नियमित रुपमा सवारी व्यवस्थापन गर्न १ सय ५२ स्थानमा नियमित संयन्त्र तैनाथ गर्दै आएको छ ।

प्रतिक्रिया